‘वुमेन्स टि–२० स्म्यास’को फाइनल पुग्यो नेपाल

काठमाडौं, ४ माघ । नेपाल ‘वुमेन्स टि–२० स्म्यास’को फाइनलमा प्रवेश गरेको छ ।

थाइल्यान्डमा जारी खेलमा इन्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाली महिला टोलीले फाइनल प्रवेश गरेको हो ।

टस जितेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय १९ रन बनाउन सफल भएको थियो ।

नेपालका लागि सीता रानामगरले सर्वाधिक ४८ रनको योगदान दिइन् । यस्तै इन्दु बर्माले अविजित ३७, काजोल श्रेष्ठले १४ रन तथा नेरी थापाले ५ रनको योगदान दिइन्। कप्तान रूविना क्षेत्री भने २ रनमा आउट भएकी थिइन् ।

१ सय २० रनको लक्ष्य पछ्याएको इन्डोनेसिया ११ ओभरमा २७ रनमा नै समेटिएको थियो । नेपाली बलरका अघि इन्डोनेसियाका ब्याट्सवुमन निरीह देखिएका थिए ।

इन्डोनेसियाका लागि युलिया आङग्राएनीले सर्वाधिक १३ रन बनाउनुबाहेक अन्य खेलाडीहरुले दोहोराे अंकमा रन बनाउन सकेनन्। इन्डोनेसियाका ४ खेलाडी शून्य रनमा आउट भएका थिए ।

इन्डोनेसियामाथि फराकिलो जित हात पार्नेक्रममा कप्तान क्षेत्रीले ३, सीता राना मगरले २ तथा कविता कनुवार, नेरी थापा र सरिता मगरले समान १/१ विकेट लिए ।

प्रतियोगितामा हालसम्म अपराजित रहेको नेपालले अब उपाधिका लागि युएई र आयोजक थाइल्यान्डबीचको विजेतासँग खेल्ने छ ।