कांग्रेसका त्यागि नेता रेग्मीको निधन

काठमाडौं, ४ माघ । नेपाली कांग्रेसका नेता, कांग्रेस कास्कीका पूर्व सचिव केशव रेग्मीको निधन भएको छ ।

लामो समयदेखि श्वासप्रश्वास रोगबाट ग्रसित रेग्मीको बिहीबार राति गोंगबुस्थित आफ्नै निवास निधन भएको हो ।

रेग्मीलाई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार पछि केही दिन अगाडि मात्र आफ्नै निवासमा ल्याइएको थियो ।

पशुपति आर्यघाटमा आज बिहानै उनको अन्त्येष्टि गरिएको छ । यसअघि उनको पार्थिव शरीरमा कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री डा. शशांक कोइरालाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

विसं २०२३ सालमा गण्डकी छात्र समितिको सदस्य रहेका उनले नेपाल विद्यार्थी संघको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । स्व. रेग्मीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि पटक पटक गरी पाँच वर्ष जेलजीवन बिताएका थिए ।

स्व. रेग्मीका दुई श्रीमती छन् ।