आज सिलेटले छैठौं खेल खेल्दै, सन्दीपले के गर्लान् ?

काठमाडौं, ४ माघ । बंगलादेश प्रिमियर लिग (बीपीएल) मा नेपाली युवा सन्दीप लामिछानेको टोली सिलेट सिक्सर्सले आज आफ्नो छैठौं खेल खेल्दैछ ।

बंगलादेशमा जारी खेलमा सिलेट सिक्सर्सले ढाका डाइनामाइटसँग छैठौं खेल खेल्न लागेको हो ।

खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजे सिलेटमा हुनेछ । खेलमा घरेलु टोली तेस्रो जितको खोजिमा हुनेछ ।

प्रतियोगिताको पाँच खेलबाट २ जितसहित पाँचौं स्थानमा रहेको सिलेटका लागि अघिल्लो चरण प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ ।

टोलीका लागि नेपाली युवा सन्दीपको प्रदर्शन सुरूआती दुई खेलमा उत्कृष्ट थियो । उनले पहिलो खेलमा दुई विकेटसमेत लिएका थिए । तर, गत साता ढाका डाइनामाइट्ससँगै भएको खेलमा सन्दीप महंगा सावित हुँदै ४ ओभरमा ३३ रन खर्चिएर कुनै विकेट लिन सकेनन् ।

त्यसपछिको एक खेल उनी टिमबाट बाहिरिएका थिए। यद्यपी बुधबार रंगपुर राइडर्सबिरुद्ध खेलेका उनले किफायती बलिङ गर्दै १ विकेटसमेत लिएका थिए । आज भने सन्दिप टिममा परेका छन् कि छैनन् भन्ने कुरा हेर्न बाँकी छ ।