प्रधानमन्त्री ओलीलाई समेत थाहा नदिइ हज कमिटीको अध्यक्षमा ‘डन’लाई नियुक्त गरेपछि गृहमन्त्री थापा बने आलोचनाको शिकार !

काठमाडौं, ४ माघ । गृहमन्त्री रामबहादुर थापाले हज कमिटीमा विवादित व्यक्ति नियुक्ति गरेर सबैको आलोचनाको शिकार बनेका छन् ।

प्रधानमन्त्री केपी ओलीलाई समेत थाहा नदिइ गृहमन्त्री थापाले संस्थागत निर्णय विपरीत हज कमिटीको अध्यक्षमा विवादास्पद पृष्ठभूमि भएका शमशेर मियाँलाई नियुक्त गरेका हुन् ।

थापाको निर्णयले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका मुस्लिम संघ/संगठनहरूले खुलेरै बिरोध गरेका छन् ।

शमशेर मियाँलाई तस्करी र गलत धन्दाहरू गर्ने व्यक्तिका पनि नाइके अर्थात ‘डन’को रुपमा मुस्लिम नेताहरूले चित्रित गर्ने गरेका छन् ।

गृहमन्त्री थापाका ‘धुन्दुकारी’ छोरा प्रतीक थापाको दवावमा शमशेर मियाँलाई हज कमिटीको अध्यक्ष बनाएको भनेर नेकपा निकटका मुस्लिम नेताहरूले खुलेआम बताउन थालेका छन् ।

यो निर्णय गराउनमा गृहमन्त्री थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदीको पनि विशेष भूमिका रहेको जनाइएको छ । हज कमिटीको अध्यक्ष बन्न शमशेर मियाँले प्रतीक थापालाई मोटो रकम दिएको आरोप छ ।

विवादित छविका शमशेर मियाँलाई हज कमिटीको अध्यक्षबाट हटाएर मुस्लिम संघ/संगठनहरूले सिफारिस गरेका व्यक्तिहरूलाई नै अध्यक्ष बनाउन माग गरेर सत्तारुढ दल निकटका मुस्लिम नेताहरूले दवाव आन्दोलन शुरु गरेका छन् । आवश्यक प-यो भने मुस्लिम नेताहरू सामूहिक राजीनामा सम्मको तयारी गरेको स्रोतले जनाएको छ ।