डा. गोविन्द केसीलाई मध्येराती सेनाकाे हेलिकप्टरबाट काठमाडाैं ल्याइयाे, आइसीयुमा राखेर उपचार गरिंदै !

काठमाडौं, ४ माघ । ९ दिनदेखि अनसनरत स्वास्थ्य क्षेत्रको अभियन्ता डा गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि उपचारका लागि बिहिबार राति काठमाडौं ल्याइएको छ ।

१६ औं अनसन इलममा गएर बसेका डा केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई सेनाको नाइटभिजन हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो ।

बिहहिबार राति १० बजे इलाम अस्पतालबाट उनलाई भद्रपुरसम्म एम्बुलेन्समा ल्याइएको थियो । इलाममा हेलिकोप्टर ल्याण्ड गर्न असम्भव भएपछि भद्रपुरबाट उनलाई काठमाडौँ ल्याइएको उनका सहयोगीले विशेषराज सिंहले बताए ।

उनको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आईसियुमा उपचार भइरहेको छ । उनका सहयोगी प्रितम सुवेदीका अनुसार स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको निर्देशनमा इलाम गएको सरकारी चिकित्सक टोलीको आग्रहमा उनी काठमाडौं आउन राजी भएका थिए ।