बस्नेतद्वारा आफ्नै खर्चमा हिन्दु परम्परा अनुसार सात वटा बेवारिसे शवको पशुपति आर्यघाटमा दाह संस्कार !

काठमाडौं, ४ माघ । बेवारिसे अवस्थामा फेला परेका सात वटा शवलाई पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

यसअघि १४३ वटा बेवारिसे शवको दाह संस्कार गरिसकेका बिनयजंग बस्नेतले बिहीबार सात वटा शवको दाहसंस्कार गरेका हुन् ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भेटिएका मृत्यु भएका व्यक्तिका आफन्त नभेटिएछि वर्षौसम्म शव राख्दा कुहेर गन्हाउने समस्या रहेको छ ।

सात वटा शवमध्ये ६ वयस्क तथा बृद्ध बृदाका शव थिए भने एउटा शव शिशुको थियो । ४ वर्षदेखि बेवारिसे शवको दाहसंस्कार गर्दै आएका बिनयजंग बस्नेत भन्छन्, ‘शवहरु घाटसम्म ल्याउन र जलाउन महानगरपालिकाबाट सहयोग मिल्छ ।’ पशुपति आर्यघाटमा भने शव जलाउन सबै खर्च आफैँले बेहोर्दै आएको उनले बताए ।

बिहीबार आर्यघाटमा ल्याइएका शवहरु ६ महिनादेखि वर्षौसम्म पनि नाम, ठेगाना तथा आफन्तहरु नखुलेकाले बेवारिसे रहँदै आएका थिए ।

ती शव बौद्ध, ललितपुर तथा अन्य विभिन्न स्थानबाट महाराजगन्ज स्थित टिचिङ हस्पिटलमा लामो समयदेखि राखिएका थिए ।