अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर नाइट भिजन हेलिकप्टर मार्फत काठमाडौं ल्याइदै

इलाम, ३ माघ । इलाममा नौं दिनदेखि अनशनरत् डा. गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर भएपछि उहाँलाई उपचारको लागि काठमाडौँ लगिने तयारी गरिएको छ ।

डा.केसीको मुटुको समस्यासहित स्वास्थ्य अवस्था कमजोर भएपछि काठमाडौँ लान लागिएको हो । “डा. केसीको शारीरिक स्थिति एकदमै कमजोर छ, त्यसैले हामीले चिकित्सकको टोलीसँग समन्वय गरेर काठमाडाँै लैजाने तयारी गरेका हौं’ डा.केसीका सहयोगी अविशेषराज सिंहले भन्नुभयो ।

डा.केसीलाई उहाँको स्वास्थ्यस्थिति कमजोर भएपछि जीवन रक्षाका लागि भएपनि काठमाडौं लान लागिएको इलामका प्रंमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिनुभयो । डा केसीलाई आजै एम्बुलेन्स मार्फत भद्रपुर लगिएको र त्यहाँबाट काठमाडौं भने नाइटभिजन हेलिकप्टरमा लाने बताइएको छ ।

मुटुको चाल अनियन्त्रित भई घटेर ३५ र बढेर २०० सम्म पुग्ने गरेको, शरीरमा ग्लुकोजको मात्र कम हुँदै गएको हुदा केसीको स्वास्थ्य गम्भीर भएको हो। चिकित्सा शिक्षा विधेयकमा सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै केसी १६ औं अनसनमा बसेका हुन् ।