गोठमा बाँधेको गाई चोरी काटेर खाएको आरोपमा एक व्यक्ति पक्राउ !

काठमाडौँ , ३ माघ । गोठमा बाँधिराखेको गाई चोरी गरी काटेर मासु खाने एक व्यक्ति पक्राउ परेका छन् ।

ललितपुर महानगरपालिकाको हरिसिद्धिस्थित माया अधिकारीको गोठमा बाँधेको गाई ,दाम्लो काटेर चोरी, काटेर खाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको हो ।

गत पुस १० गते एउटा गाई हराएपनि चुपचाप बसेकी मायाको गोठबाट मंगलबार राती पनि बाँधिएको ठाउँबाट अर्को गाई हराएपछि प्रहरीमा उजूरी गरेकी थिइन् । घटनाको उजूरीका आधारमा खोजि गरेको प्रहरीले सोहि महानगरपालिकाको वडा नम्बर २८ मा अवस्थित होसना इँटा भट्टाको माटो निकाल्ने ठाउँमा पुरिएको अवस्थामा गाई फेला पारेको थियो ।

गाईको शरिरबाट मासु निकालीसकिएको अवस्थामा टाउको, पुच्छर, छाला, हड्डी, खुट्टा लगायत मात्र फेला परेको सातदोबाटो वृत्तका प्रमुख गौतम मिश्रले जानकरी दिए। इट्टा भट्टामा गाई पुरेको पाईएपछि त्यहाँ निर्माण गरिएका टहराहरुमा खोजतलास गर्ने क्रममा प्रहरीले एउटा टहराबाट मासु फेला पारेको र उक्त मासु केको हो भनि डीएन परिक्षण गर्न पशु कार्यालय पठाइएको उनले बताए ।

गाई चोरी घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तिले ६ जना मिलेर गाई चोरी ल्याइ फरुवाले हानेर मारेको र राम्रो मासु निकालेर पुन खाल्डोमा हालेकाे स्वीकार गरेका छन् ।

भट्टा संचालकलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ ।