निगमले वाइडबडी किन्न लिएको ऋणको किस्ता तिर्न नसकेपछि कोषले माग्यो बैंक स्टेटमेन्ट !

काठमाडौं, ३ माघ । नेपाल वायुसेवा निगमले वाइडबडी खरिदका क्रममा नागरिक लगानी कोष र संचयकोषसँग लिएको ऋणको अन्तिम किस्ता तिर्न नसकेको खबर सार्बजनिक भएको छ ।

पुस मसान्तमा निगमले दुवै कोषलाई ४०÷४० करोड रुपैयाँ किस्ता बुझाउनुपर्ने भए पनि नागरिक लगानीलाई १० करोड मात्रै बुझाएको छ । संचय कोषलाई त्यो पनि बुझाउनै बाँकी छ ।

दुवैलाई यो किस्ता तिर्न ढिला हुने भन्दै निगमले जानकारी गराएको छ । दुवै कोषले बैंकहरुबाट ‘सर्ट टर्म’को ऋण लिएर भए पनि किस्ता बुझाउन ताकेता गरिरहेका छन् ।

‘निगमले बाँकी ३० करोड रुपैयाँ माघ १५ गतेसम्म बुझाउने प्रतिबद्धता जनाएको छ’ नागरिक लगानीका प्रवक्ता उद्धव सिलवालले भने ‘१५ गतेसम्म पनि भुक्तानी नभएमा थप जरिवाना समेत लाग्ने व्यवस्था छ ।’

संचय कोषले भने निगमसँग बैंक स्टेटमेन्ट माग गरेको छ । पैसा भइकन पनि नतिरेको हो वा वास्तवमै समस्या परेर ढिला भएको हो भन्ने सम्वन्धमा यथार्थ बुझ्नका लागि बैंक स्टेटमेन्ट मागिएको कोषले जनाएको छ ।