इमरानको फिल्ममा सेन्सर बोर्डको अब्जेक्सन, इमरान भन्छन् – ‘किस सिन’ दिन बाध्य बनाइयो !

काठमाडौं, ३ माघ । इमरान हासमीद्वारा अभिनित चलचित्र ‘ह्वाइ चिट इन्डिया’ शुक्रबार रिलिज हुँदैछ ।

शुरुमा ‘चिट इन्डिया’ नाम राखिएको उक्त चलचित्रको नाममा भारतिय सेन्सर बोर्डले अब्जेक्सन गर्दै नाम परिवर्तन गरेर मात्रै रिलिज गर्न निर्देशन दिएपछि ‘ह्वाइ चिट इन्डिया’ राखिएको हो ।

सेन्सरको अड्को एकातर्फ रह्यो भने सिनेमाका मूख्य अभिनेता इमरानले सिनेमामा आफूलाई अड्को थापेर चुम्बनको दृश्य दिन बाध्य पारेको खुलासा गरेका छन् ।

लगातारका सिनेमामा अभिनेत्रीसँग चुम्बनको दृश्य दिएर बलिउडका सिरियल किसरको उपाधि पाएका इमरान यसपटक पर्दामा चुम्बनको दृश्य नहोस भन्ने चाहन्थे तर त्यसबाट उनले धर नपाएको बताए । एक अन्तरवार्तामा उनले यसबारेमा खुलासा गरेका हुन्।

सिनेमा गर्ने तय भएपछि उनी र निर्देशक सिनेमामा कुनै त्यस्तो चुम्बन दृश्य नराख्नेमा राजी भएका थिए तर निर्माताहरूको दबाबले सिनेमामा चुम्बनको दृश्य दिन बाध्य भएको बताए ।

‘मैले विरोध गरें तर निर्माताहरूले अड्को थापेपछि सिनेमाको अन्तिम दृश्यका रूपमा यसलाई छायाँकन गरियो’, इमरानले भने ।

उनले सिनेमामा अनिवार्य चुम्बन दृश्य दिएपनि पहिलो सिनेमामा १० चुम्बन रहेकोमा त्यसपछिका सिनेमामा १ मा झारेको भन्दै बचाउ पनि गरे ।

उनको रिलिज उन्मुख सिनेमाले भारतिय शिक्षा क्षेत्रमा रहिरहेको चोरी गर्ने प्रवृत्तिलाई आफ्नो विषय बनाएको छ ।