हेलिकप्टरमार्फत गर्भवतीको उद्धार गरेको छ

सोलुखुम्बु, २ माघ | सोताङ गाउँपालिका–५ की एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

सोलु अस्पताल फाप्लुका प्रमुख चिकित्सक मिङ्मार छिरिङ शेर्पाको पहलमा आज १८ वर्षीया लाफुटी शेर्पाको उद्धार गरिएको अस्पतालकी सूचना अधिकारी सानी शेर्पाले जानकारी दिनुभयो । कैलाश हेलिकप्टरमार्फत उद्धार गरिएको चिकित्सक शेर्पाले जानकारी दिनुभयो ।

गर्भवती शेर्पाले आज ३ बजेर ४ मिनेटमा शल्यक्रियामार्फत तीन केजी सात ग्रामकी छोरीलाई जन्मदिएको अस्पतालले जनाएको छ । चिकित्सक शेर्पाका अनुसार दुई घण्टामा शल्यक्रिया गर्नुपर्ने भए पनि तालीम प्राप्त स्वास्थ्यकर्मीको अभावका कारण ११ घण्टा लागेको थियो ।

आर्थिक अवस्था कमजोर र जटिल परिस्थितिमा नेपाल सरकारले निःशुल्क उद्धार गर्ने व्यवस्थाअनुरुप नै उद्धार गरिएको उहाँले बताउनुभयो । शल्यक्रियापछि आमा र बच्चाको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ । योसँगै दुई महीनाको अवधिमा सोताङबाट गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गर्नेको सङ्ख्या तीन पुगेको छ ।

पछिल्लो समय नेपाल सरकारले आर्थिक अवस्था कमजोर र जटिल अवस्थाको गर्भवती महिलालाई निःशुल्क उद्धार गर्ने नीतिको कारण भने यहाँका स्थानीयवासीले राहत महशुस गरेका छन् । रासस