प्रधानसेनापति स्वदेश फिर्ता

काठमाडौँ, २ माघ | प्रधान सेनापति पूर्णचन्द्र थापा छ दिने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ ।

मित्रराष्ट्र भारतका स्थलसेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा गत पुस २७ गतेबाट भारत भ्रमणमा रहनुभएका प्रधानसेनापति थापाले छ दिने भ्रमण सम्पन्न गरी आज अपरान्ह् स्वदेश फिर्ता हुनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाल सरकारको निर्णयबमोजिम भारत भ्रमणको क्रममा पुस २८ गते प्रधानसेनापति थापालाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले भारतीयस्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुभएको थियो ।

भ्रमणको क्रममा प्रधानसेनापति थापाले भारतीय सेनाका समकक्षीस्थल सेनाध्यक्ष जनरल रावतसँग भेटघाट गर्नुका साथै नयाँदिल्लीस्थित नेशनल डिफेन्स कलेज, जयपुरस्थित साउथ वेस्टन कमाण्डको र लखनउस्थित सेन्ट्रल कमाण्डको मुख्यालयको निरीक्षण भ्रमणसमेत गर्नुभएको थियो ।

यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमण र दुई देशको सेनाका प्रधानसेनापतिलाई मानार्थ महारथीको उपाधिद्वारा सुशोभित गर्ने परम्पराबाट नेपाली सेना र भारतीय सेनाबीच विगतदेखि रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धले निरन्तरता पाउनुका साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन महत्वपूर्ण भएको विश्वास नेपाली सेनाले लिएको छ । रासस