संविधानले जनतालाई अधिकार दिएको छ : अध्यक्ष दाहाल

हेटौँडा, २ माघ | नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ संविधानले नेपाली जनतालाई अधिकारको व्यवस्था गरेको बताउनुभएको छ ।

मकवानपुरको वाग्मती गाउँपालिकाको भवन उद्घाटन गर्दै उहाँले नेपालको संविधानमा भएको मौलिक अधिकारको व्यवस्था विश्वको उत्कृष्टमध्ये एक भएको बताउनुभयो । गाउँपालिकाको वडा नं ४ झुरझुरेमा बनेको भवन रु ९० लाख लगानीमा बनेको हो ।

अध्यक्ष दाहालले भवन उद्घाटनसँगै जनयुद्धका क्रममा विसं २०६२ माघमा भिडन्त भएको स्थानमा निर्माण हुन लागेको शहीद पार्ककोसमेत शिलान्याश गर्नुभयो । सदरमुकामबाट ५८ किमी पूर्वमा रहेको सो गाउँपालिकाले अहिले गाउँतहमा गएर जनतालाई स्थानीय सरकारको प्रत्याभूति गराएको अध्यक्ष सर्केश घलानले बताउनुभयो ।

अध्यक्ष घलानले सो गाउँपालिकाको ८० प्रतिशत जमीनको लालपूर्जा नभएकाले पहल गरिदिन अध्यक्ष दाहाललाई अनुरोध गर्नुभएको थियो । कार्यक्रममा प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल, सामजिक विकासमन्त्री युवराज दुलाल, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी र कुमारी मोक्तान, जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाललगायतको सहभागिता थियो । रासस