रक्सीले भित्री अंग खराब गरेर देखिने असर र रक्सीको सेवनले बढाउने छालाका बिरामी…

काठमाडौँ – रक्सीले छालामा पनि असर गर्छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ, तर यसले जति भित्री अंगमा असर गर्छ त्यत्तिकै असर छालामा पनि गर्छ । हामीमध्ये धेरैलाई थाहा छ, रक्सीले विशेसगरी कलेजो तथा प्याङ्क्रियाज नामक ग्रन्थी तथा मुटु, नशा जस्ता अंगमा असर गर्नुका साथै शरीरको रोगसँग लड्ने क्षमता पनि कम गर्छ ।

सामान्यतयाः रक्सीले छालामा गर्ने असरलाई तीन भागमा वर्गीकरण गरिन्छ, जस्तै यसले प्रत्यक्ष गर्ने असर, रक्सीले भित्री अंग खराब गरेर देखिने असर र रक्सीको सेवनले बढाउने छालाका बिरामीहरु ।

मुख्यतया रक्सी सेवन गर्नाले सिधा छालामा गराउने समस्या निम्न छन्ः

– छाला अत्यधिक सुक्खा हुने
– शरीरभरि चिलाउने समस्या हुने
– पैताला र हत्केला रातो भइरहने
– अनुहार रातो भइरहने
– छालाको क्यान्सर
– अनुहार तथा हातको छाला कालो हुने
– नङमा विभिन्न प्रकारका समस्या देखिने
– घाँटीको विभिन्न ग्रन्थीको सुजन

छालाको पुरानो बिरामी जसलाई रक्सीले झन् बढाउँछ जस्तैः

सोरयासिस ः रक्सीको अधिक सेवनले यो रोगलाई बढाउने मात्र नभई उपचारमा प्रयोग हुने औषधिलाई पनि कम उपयोगी बनाउँछ ।
रोजेसिया : रक्सीको सेवनले यो रोगका बिरामीको अनुहार खानेबित्तिकै एकदम रातो हुने हुन्छ । रक्सी खानेबित्तिकै वा केही समयमा अनुहार रातो हुने हुँदा यो समस्या भएका बिरामीले रक्सी नै खान छोडेका उदाहरण पनि छन् ।
कपालमा आउने चाया ।
रिङ एलर्जी (नमुलर इक्जेमा)

रक्सीको असरले भित्री अंगमा खराब गरेपछि देखिने समस्याः

– पोषक तत्वको कमीले हुने समस्या ।
– पेल्लाग्रा : घाँटी, हात र खुट्टामा आउने एलर्जी ।
– मरास्मस र क्वासीवर्करमा जस्तो छालामा आउने समस्या ।
– जिङ्कको कमीले कपाल झर्ने छाला सुक्खा हुने समस्या पकुवा घाउहरु विभिन्न ठाउँमा आउने समस्या ।
– संक्रमण : शरीरको रोगसँग लड्ने झमता कम गराई विभिन्न ठाउँमा किटाणुहरुको संक्रमण बढाउँछ।
– कलेजोको सिरोसिस : यो समस्यामा विभिन्न ठाउँमा रगतका साना नलीहरु देखिने, हातखुट्टा, अनुहार रातो हुने, शरीरभरि चिलाउने, पुरुषको स्तन बढ्ने, जन्डिस हुने जस्ता समस्या देखिन्छन् ।