कांग्रेस नेता जोशीको प्रश्न : कर्मचारी कुट्दैमा संघीयता सफल हुन्छ ?

धनुषा, २ माघ । कांग्रेस नेता नवीन्द्रराज जोशीले मन्त्रीद्वारा सचिव कुटिनु आपत्तिजनक भएको टिप्पणी गरेका छन् ।

प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गरेको घटना निन्दनीय र आपत्तिजनक रहेको बताएका हुन् ।

नेपाल प्रेस युनियन धनुषाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका जोशीले कर्मचारीलाई कुट्दैमा संघीयता सफल नहुने बताए । उनले संघीयतालाई धरापमा पार्न प्रदेश र संघीय सरकार लागिपरेको आरोप लगाए ।

‘प्रदेश सरकार दमनकारी मानसिकताबाट प्रताडित भएको छ । सचिव झालाई कुट्नु अपराध हो । उनले जे जस्ता कुरा गरे पनि कुट्नु त अपराध नै हो,’ नेता जोशीले भने ।

उनले संविधानले आम नागरिकको स्वाभिमान, व्यक्तिगत भावनाको कदर र व्यक्तिको सुरक्षा गर्नुपर्नेमा सचिव जस्ता कर्मचारीलाई मन्त्रीले कुटेर दमन, अपहेलना, अपमान र संविधानको मर्मविपरीत भएको दाबी गरे ।