प्रचण्ड भन्छन् : पहिचान ‘मागेर या बिन्ती चढाएर’ पाइने कुरो होइन

धादिङबेँसी, २ माघ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घले जातिलाई आदिवासीमा सूचिकृत गराउन आफूले सक्दो प्रयास गर्ने विश्वास दिलाएका छन् ।

लिःल फङ (घले समाज) केन्द्रीय समितिले आज धादिङ बेँसीमा आयोजना गरेको (मृर्गवर्ग) ल्होसार कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

घले जातिको आफ्नै परम्परा, संस्कृति, भेशभूषा, मौलिकता, भाषा र खानपान भएर पनि आदिवासीमा सूचिकृत नभएकोमा आफूहरूको पनि केही न केही गल्ती भएको स्वीकार गरेका छन् ।

कुनै पनि जातीय भाषीले आफ्नो पहिचान ‘मागेर वा बिन्ती चढाएर’ नपाइने धारणा व्यक्त गर्दै उनले घलेले आफ्नो पहिचान जोगाउन आफैँ जागरुक हुनुपर्ने विचार व्यक्त गरेका छन् ।

पूर्व गृहमन्त्री बुद्धिमान तामाङले धादिङमा पनि ठाउँठाउँमा घलेले राज्य गरेको तर त्यसको कुनै लिखित इतिहास नभएको बताए ।

कार्यक्रममा सहभागीलाई भँेडाको मासुलगायत घले खाना दुना र टपरीमा राखेर खुवाइएको थियो ।