काठमाडौंबाट २ सय ६ यात्रु बोकेर भारतको बैंग्लोर उडेको नेपाल एयरलाइन्सको विमानलाई माहुरीले एक्कासी आक्रमण गरेपछि…!

काठमाडौँ , २ माघ । नेपाल वायुसेवा निगमको अन्नपूर्ण वाइडबडी विमानमा अचम्म लाग्दो घटना घटेको छ ।

उक्त बिमान काठमाडौंबाट मंगलबार दिउँसो २ सय ६ यात्रु बोकेर भारतको बैंग्लोरस्थित केम्पेगोडा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेर यात्रु ओराल्ने तयारी गदै थियो । विमानमा एकाएक माहुरीले आक्रमण गर्न थालेपछि यात्रु र चालकदलका सदस्य आस्चार्यमा परे ।

विमानको दायाँ पखेटामा माहुरीहरु एकाएक भरिए । जहाज विमानस्थलको पार्किङ–वेको नौं नम्बरमा थियो । यात्रुहरू विमानबाट सहजै उत्रिए । कार्गोको ढोका खोलेर सामान झार्न लागेका कामदार भने माहुरीको आक्रमणमा परे । ‘गाडी चलाइरहेका बेलोडरलाई माहुरीले टोक्यो,’ निगम उच्च स्रोतले भन्यो, ‘त्यसपछि एयरपोर्टको सेफ्टी विभागका कर्मचारीले माहुरी नियन्त्रण लिन जहाज घेराबन्दी गरे।’ माहुरीको टोकाइबाट जोगिने पोसाकसहित रासायनिक औषधि बोकेर सेफ्टीका कर्मचारी खटिए । अन्य विमानबाट टाढै राखेर माहुरी नियन्त्रण गर्ने योजना बनाइएको थियो ।

रानीले आफ्नो स्थान लिएपछि सबै माहुरी विमानमा एक ढिक्का भएर बसे । ग्राउन्ड ह्यान्डिलिङ्ग गर्ने ग्लोबल ग्राउन्ड इन्डियाका कर्मचारीले कार्गो कम्पार्टमेन्टबाट सामान झिक्ने र राक्ने काम सकेर कार्गो ढोका बन्द गरे । जहाजलाई पार्किङ क्षेत्रबाट ट्याक्सीवेमा पुर्‍याइयो। माहुरीहरू इन्जिनबाट निस्केको हावाको बेगले उड्न थाले । माहुरी भागेपछि रिमोट पार्किङमा लैजानु पर्ने झन्झट टर्‍यो ।

यदि माहुरीको गोला पखेटाबाट नहटेको भए जहाज समयमै उड्ने थिएन ।