चीनिया अन्तरिक्ष यानले चन्द्रमामा लिएर गएको बिरुवाको अंकुर पलायो !

चीन, २ माघ । चीनको अन्तरिक्ष अभियान चांग’अले चन्द्रमामा लिएर गएका केही बीउहरू टुसाएको चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनले जनाएको छ । चन्द्रमामा कुनै पनि जैविक पदार्थ उम्रिएको यो पहिलो घटना हो । यसलाई वैज्ञानिकहरुले अन्तरिक्षबारे लामो अनुसन्धानपछिको ऐतिहासिक सफलताको संज्ञा दिएका छन् ।

कपासको बीउ उम्रिएको बारे जानकारी दिँदै चिनियाँ वैज्ञानिक शाई गेङशिन भन्छन्, ‘चिनियाँ रोभर चाङ ई–४ यही महिना मात्रै चन्द्रमामा अवतरण भएको थियो । हामीले हावा, पानी र माटो राखिएको एउटा १८ सेन्टिमिटरको डिब्बा पठाएका थियौँ । जसमा कपास, आलु र तोरीको बीउ राखिएको थियो ।’

चन्द्रमामा बिरुवा उमार्न सकिने अवस्था, ‌साढे दुई वर्ष समय लाग्ने मङ्गल ग्रहतर्फको यात्रा जस्ता भविष्यमा हुने लामो दूरीका अन्तिरक्ष अभियानहरूका लागि निकै महत्त्वपूर्ण हुनसक्छ ।

यो सफलताको अर्थ अन्तरिक्षयात्रीहरूले अन्तरिक्ष यात्रामा रहेका बेला आफ्नो लागि आवश्यक खानेकुरा उमारेर प्रयोग गर्न सक्नेछन् भन्ने हो । त्यसो हुन सकेमा अन्तरिक्षयात्रीहरूले खानेकुरा प्राप्त गर्न बारम्बार पृथ्वीमा फर्कनुपर्ने छैन ।

गेङशिनका अनुसार यानले पठाएको तस्बिरमा कपासको अंकुर राम्रोसँग पलाइरहेको छ । कपासबाहेक भने अन्य बिरुवाका् बीउ भने अंकुरित नभएको उनले बताए ।