मापदण्ड भन्दा बढी ल्याउनेहरुको त्रिभुवन विमानस्थलमा मदिराका भण्डार : जफत हुनेमा ‘रेड लेवल’ र ‘ब्ल्याक लेवल’ को मात्रा बढी !

काठमाडौं, १ माघ । जनवरी १ देखि विदेशबाट फर्किएका नेपालीले ल्याउने सामानमा कडाइ गरिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मदिराका बोतल थुप्रिएका छन् ।

विदेसिएकाले ल्याउने सामानमा कडाइ गरिनासाथ विमानस्थलमा मदिराका बोतल थुप्रिन थालेका हुन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता चुडाराज सापकोटाले कडाइ गरिएपछि २ हजार बढी मदिराका बोतलहरू जफत भएको जानकारी दिए ।

‘विदेसिएकाले मदिरा बढी मात्रामा ल्याउने गरेको देखिन्छ’ ‘ऐनअनुरूप १ लिटरभन्दा बढी परिमाण ल्याएकाको जफत भएको हो ।’

जफत भएको अधिकांश मदिरा ‘रेड लेवल’ र ‘ब्ल्याक लेवल’ छन् । संख्यात्मक रूपमा हेर्दा दैनिक औसत १३३ बोतल मदिरा विमानस्थलमा जफत हुने गरेको देखिन्छ ।

तर पछिल्ला दिनमा जफत हुने मदिराको परिमाण घट्दै गएको सापकोटाले बताए ।

७५० मिलिलिटरका दुई बोतल ल्याएमा एउटा बोतल जफत हुने सापकोटाले बताए । तर ५ सय मिलिलिटर परिमाण रहेको मदिरा २ बोतलसम्म ल्याउन पाइन्छ ।

यसरी जफत गरिएको मदिराको सबैभन्दा पहिले बजार मूल्य निर्धारण गरिन्छ । त्यसका लागि छुट्टै मूल्य निर्धारण समिति नै रहेको सापकोटाले जानकारी दिए । संकलन भएको मदिरालाई १ महिनापछि लिलामी विक्रीका लागि सूचना निकालिन्छ । लिलामी बिक्री गरी आएको पैसा राजस्वका रूपमा जम्मा हुने सापकोटाले बताए ।