इजरायलले धेरै नेपाली कामदार लाने तयारी गर्दै

काठमाडौँ , १ माघ । नेपाली कामदारलाई रोजगारीको अवसर प्रदान गर्न इजरायल सरकार सकारात्मक देखिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग नेपालका लागि इजरायलका राजदूत बेन्नी अमेरले आज गर्नुभएको भेटमा नेपाली कामदारलाई थप रोजगारीको अवसर प्रदान गर्न इजरायल सरकार तयार रहेको जानकारी गराउनुभएको हुन् ।

सो अवसरमा मन्त्री विष्टले कृषि, पर्यटन तथा रोजगारीको क्षेत्रमा सहयोग आदानप्रदान गर्ने पर्याप्त सम्भावना रहेको र नेपाली कामदार विशेष गरी ‘केयर गिभर’को सङ्ख्या थप गर्न सकेमा दुवै देश लाभान्वित हुने बताउनुभयो ।

श्रम सम्बन्धको माध्यमबाट नेपाल र इजरायलबीचको द्विपक्षीय सम्बन्धलाई अझै प्रगाढ बनाउन सकिने उहाँले बताउनुभएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

घरेलु कामदारका रुपमा खाडी मुलुक पुगेका नेपालीले धेरै दुःख पाए पनि इजरायलमा केयर गिभरमा काम गर्ने नेपालीले शारीरिक तथा आर्थिक शोषणमा पर्नु पर्दैन । इजरायलले मुख्यगरी केयर गिभरमा नेपाल, फिलिपिन्स, श्रीलङ्का र भारतबाट महिला कामदार लैजाने गरेको छ ।