होटल व्यवसाय सङ्कटमा पर्दैन ः प्रदेशका उपसभामुख थारू

राँझा, १ माघ | प्रदेश नं ५ का उपसभामुख कृष्णी थारूले नेपालगञ्जको होटल व्यवसाय सङ्कटमा नपर्ने बताउनुभएकोे छ ।

माघी पर्व मनाउन गृह जिल्ला बर्दिया जाने क्रममा आज नेपालगञ्जका अगुवा होटल व्यवसायीसँग माघी पर्वको शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “प्रदेशको राजधानी नहुँदैमा नेपालगञ्ज पछि पर्दैन, यो क्षेत्रको विकासका लागि म आवश्यक पहल गरिरहेकी छु, पर्यटनसँग जोडेर यहाँका होटल व्यवसाय अगाडि बढ्न सक्नुपर्दछ ।”

सो अवसरमा होटल व्यवसायी सङ्घ, बाँकेका पूर्वअध्यक्ष भाष्कर काफ्लेले पछिल्लो समय नेपालगञ्जको होटल व्यवसाय सन्तोषजनक रुपमा फस्टाउन नसकेको उल्लेख गर्दै होटलमा भएको लगानीअनुसार व्यवसाय फस्टाउन नसकेको गुणासो गर्नुभयो ।

होटल व्यवसायी महासङ्घ बाँकेका महासचिव भीम कँडेलले धार्मिक पर्यटनको विकास गर्न नेपालगञ्ज दिल्ली हवाई उडान आवश्यक रहेको बताउनुभयो ।

पत्रकार कुलुङको परिवारलाई आर्थिक सहयोग

उपसभामुख कृष्णी थारूले स्वर्गीय पत्रकार एमडी कुलुङको सम्झना गर्दै उहाँको परिवारलाई रु पाँच हजार सहयोग गर्नुभएको छ ।

नेपाल पत्रकार महासङ्घ प्रदेश नं ५ का महासचिव भेषराज बस्नेतमार्फत उहाँले कुलुङ परिवारलाई उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । राजधानी दैनिकमा काठमाडौँमा रहेर लामो समयदेखि काम गर्दै आउनुभएका पत्रकार कुलुङको केही दिनअघि निधन भएको थियो । रासस