घले समुदायलाई आदिवासी जनजातिमा सूचिकृत गर्ने प्रतिबद्धता : अध्यक्ष दाहाल

धादिङ, १ माघ | नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घले समुदायलाई आदिवासी जनजातिमा सूचिकृत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभउको छ ।

घले समुदायको ल्होसारको अवसरमा आज धादिङबेसीमा आयोजित कार्यक्रममा शुभकामना व्यक्त गर्दै उहाँले आफ्नो पहिचान र संस्कृतिलाई जोगाइ राख्न आग्रह गर्नुभयो । बिन्ती पत्र चढाएर पहिचान र अधिकार प्राप्त नभएकोले यसका लागि निरन्तर क्रियाशिल रहन आग्रह गर्दै उहाँले घले समुदायलाई आदिवासी जनजाति हुनबाट छुटाइएकाले सूचिकृतका लागि प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

उहाँले विविधतामा एकता, पहिचान र आत्म सम्मानमा अपमानित गरेर नभइ पहिचानसहितको आत्मसम्मान भएपछि मात्र समृद्धिको अभियान सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले राष्ट्र निर्माणका लागि कुनै पनि जातिले अपमानित हुनुनपर्ने भएकोले विगतमा गरिएका गल्ती सच्याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सांसद खेमप्रसाद लोहनी, भूमि त्रिपाठी, ३ नं प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकटेल लगायतले शुभकामना दिँदै विविधतामा एकता नै नेपाली समाजको पहिचान भएकाले समृद्ध नेपाल निर्माणमा योगदान गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपालका बिभिन्न जिल्लासहित भुटान, बेलायत, जापान, कतार, युएई, मलेसिया, साउदी अरब, बहराइन, बेल्जियम, इटाली, फ्रान्स, पोर्तुगल, अमेरिका, हङकङ र मकाउबाट कार्यक्रममा प्रतिनिधि सहभागी रहेका घले समाज धादिङका अध्यक्ष धनबहादुर घलेले बताउनुभयो । रासस