विजय थापाको समर्थक बिद्यार्थीद्वारा डाक्टर केसीविरुद्ध इलाममा जुलुस !

इलाम, १ माघ । ६ दिनदेखि १६ औं सत्याग्रह थालेका प्रा डा गोविन्द केसीका विरुद्धमा आवाज उठाउँदै युवा विद्यार्थीले इलाममा सोमबार जुलुस निकालेका छन् ।

‘सरकारी तलब, भत्ता खाएर राजनीति गर्नेलाई कार्बाही गर, विधिको शासनको विरोध गर्ने होसियार’ जस्ता नारा लगाउँदै युवा विद्यार्थीले इलाम सदरमुकाममा जुलुस निकालेका हुन् ।

विद्यार्थीले अनसनरत डाक्टर केसीको मागको विरोध गर्दै अर्का अनसनरत विद्यार्थी तथा सामाजिक अभियन्ता विजय थापालाई समर्थन गरेका थिए ।

विद्यार्थीले नागरिकका प्रतिनिधिले बनाएको विधेयकलाई एक व्यक्तिले तहसनहस पार्न खोजेको आरोप लगाएका थिए । इलाम चोक बजारस्थित थापाको अनसनस्थलबाट सुरु भएको जुलुस विभिन्न ठाउँको परिक्रमा गर्दै फेरि बजारमै आएर सभामा परिणत भएको थियो ।

सभामा सम्बोधन गर्दै युवा विद्यार्थी भीष्म पौडेलले विदेशमा चिकित्सा शिक्षा पढ्न गएका विद्यार्थीलाई स्वदेशमै अध्ययन गर्ने वातावरण बनाउन माग गर्ने थापाको माग पूरा हुनुपर्ने माग गरेका थिए ।

उनले डाक्टर केसीले सयमा सय माग पूरा हुनुपर्छ भन्नु ‘बालहट’ भएको भन्दै तत्काल अनशन तोड्न अनुरोध गर्नुभएको थियो ।