इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीद्वारा वल्भ्सलाई ३–० गोल अन्तरले पराजित

एजेन्सी, १ माघ । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले वल्भ्सलाई ३–० ले पराजित गरेको छ ।

गए राति भएको खेलमा सिटीले घरेलु मैदानमा वल्भ्सलाई ३–० ले पराजित गर्दै शीर्ष स्थानको लिभरपुलसँग अंक दूरी छोट्याएको हो ।

१० खेलाडीमा समेटिएको वल्भ्सलाई सहजै हराउने क्रममा गाब्रियल जेससले दुई गोल गर्दा एक गोल उपहार पाएको थियो ।

खेलको १०औं मिनेटमा जेससले गोल गर्दै सिटीलाई सुरूवाती अग्रता दिलाएका थिए । १९ औं मिनेटमा वल्भ्स १० खेलाडीमा समेटियो । वल्भ्सका विली बोलीले बर्नाडो सिल्भामाथि अनावश्यक ट्याकल गरेपछि रेफ्रीले रातो कार्ड देखाउदै मैदान बाहिर पठाएका थिए ।

पहिलो हाफमा २–० को अग्रता लिएको सिटीले दोस्रो हाफमा थप एक गोल गर्‍यो । खेलको ७८औं मिनेटमा कोनोर कोडीले आत्मघाती गोल उपहार दिएपछि सिटी ३–० ले विजयी हुन सफल भयो ।

यो जितसँगै सिटीले शीर्ष स्थानको लिभरपुलसँग अंक दुरी छोट्याउँदै चारमा झारेको छ । सिटीको २२ खेलबाट ५३ अंक पुगेको छ । समान खेलबाटै शीर्षस्थानमा रहेको लिभरपलुको ५७ अंक छ । टोटनह्याम ४८ अंकसहित तेस्रो स्थानमा हुँदा ४७ अंक जोडेको चेल्सी चौथो स्थानमा र आर्सनल ४१ अंकसहित पाँचौ स्थानमा छन् ।