राष्ट्रियसभा अध्यक्षसँग राजदूतको भेट

काठमाडौँ, ३० पुस | राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत हाउ यानकीले शिष्टाचार भेटघाट गर्नुभएको छ ।

सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा आज भएको उक्त भेटमा अध्यक्ष तिमिल्सिनाले चीनले गरेको तीव्र आर्थिक वृद्धिबाट नेपालले फाइदा लिनसक्ने बताउनुभयो । नेपालको सामाजिक तथा आर्थिक विकासमा चीनले उपलब्ध गराउँदै आएको विभिन्न प्रकारका सहयोगको सराहना गर्दै अध्यक्ष तिमिल्सिनाले नेपालमा आगामी फागुनमा हुने लगानी सम्मेलनमा पनि चीनबाट उच्च लगानीको प्रतिबद्धता आउने अपेक्षा गर्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’मा नेपाल सहभागी हुने प्रतिबद्धता व्यक्त गरिसकेको बताउँदै यसबाट नेपाल र चीनबीच आर्थिक गतिविधिमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । दुई देशबीच रेलमार्ग विकास गर्ने योजनामा चीनको साथ र तत्परताको प्रशंसा गर्दै अध्यक्ष तिमिल्सिनाले केरुङ–रसुवागढी–काठमाडौँ रेलमार्ग, आर्थिक रुपले निकै महत्वपूर्ण कोरला नाकालगायत अन्य थुप्रै नाका छिट्टै खुल्नेमा अपेक्षा राख्नुभयो ।

भेटमा नवनियुक्त चिनियाँ राजदूत यानकीले नेपालले लिएको एक चीन नीतिको प्रशंसा गर्दै दुई देशबीचको दौत्य सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको अध्यक्ष तिमिल्सिनाको कार्यालयले जनाएको छ । उहाँले वेल्ट एण्ड रोड इनिसियटिभ (वीआरआई)को उद्देश्य चीनसँगै छिमेकी राष्ट्रको विकासमा केन्द्रित रहेको उल्लेख गर्दै नेपाल यसको महत्वपूर्ण साझेदार मुलुक भएकाले यसबाट अधिकतम फाइदा लिनुपर्नेमा जोड दिनुभयो ।

कतारका राजदूत

यसैबीच आज नै अध्यक्ष तिमिल्सिनासँग नेपालका लागि कतारका राजदूत अहमद जसमी मोहम्मद अली अल हमरले शिष्टाचार भेटघाट गर्नुभएको छ ।

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा दुई देशको सम्बन्ध र साझेदारीका विषयमा कुराकानी भएको जनाइएको छ । रासस