युएईलाई पराजित गर्दै १ खेल अगावै नेपाल सेमिफाइनल प्रवेश

काठमाडौं, ३० पुस । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले लगातार तेस्रो जित निकालेको छ ।

थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी -ट्वान्टी स्म्यास क्रिकेटको तेस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार युएईलाई ६ विकेटले हराउँदै नेपाल एक खेल अगाडि नै सेमिफाइनलमा प्रवेश गरेको हो ।

युएईले दिएको १०६ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि ओपनर सिता रानामगरले सर्वाधिक ३७ रन बनाइन् । अर्की ओपनर काजोल श्रेष्ठले २५ रन बनाउँदा इन्दु बर्माले १३ रन जोडिन् । डोली भट्ट ७ रनमा एलबिडब्लुको धरापमा परिन् ।

यस्तै कप्तान रूविना क्षेत्रीले अभिजित १० रन बनाउँदा नेरी थापा ६ रनमा नटआउट रहिन् ।

यसअघि बैंककमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०५ रन बनाएको थियो ।

नेपालले अब समूह चरणको अन्तिम खेलमा बुधबार थाइल्याण्डसँग खेल्नेछ ।