पुरानो पेशालाई संरक्षण गर्दै तामा उद्योग

बेझाड, ३० पुस | तामाको भाँडा बनाउने पुरानो पेशा जोगाउन पाल्पा, रामपुर नगरपालिका– ५ मटेरी बस्ने दुर्गाप्रसाद पोखरेलले तामा उद्योग सञ्चालन गर्नुभएको छ ।

समाजबाटै लोपोन्मुख भइसकेको पुरानो तामाको भाँडा बनाउने पेशा गाउँघरमा खासै भेटिदैनन् । पोखरेलको उद्योगमा अहिले हातले कुदेका कलात्मक तामाका भाँडा बनाउने गरिन्छ ।

उहाँको उद्योगमा तामाका भाँडा बनाउने र खरीद गर्ने ग्राहकको आकर्षण बढ्दै गएको छ । अहिले नयाँ नमुनाका तामाका गाग्री, ताउलो, अमखोरा, माना, पाथीलगायत सामान ग्राहकले बढी मन पराउने गरेको उहाँले बताउनुभयो ।

“तामाका भाँडा बनाउने उद्योग सबै बन्द अवस्थामा छन्, त्यसलाई पुनःसंरक्षण गर्न र तामाका भाँडा घर घरमा चलनचल्तीमा ल्याउनका लागि उक्त उद्योग संचालन गरेको हुँ” पोखरेलले भन्नुभयो ।

पोखरेलले एक वर्षअघि रु ३० लाखको लागतमा सञ्चालन गर्नुभएको उक्त उद्योगबाट तीन जनालाई रोजगारीसमेत मिलेको छ । यहाँ उत्पादन भएका तामाका गाग्री, ताउलो, अमखोरालगायत सामान प्रतिकिलो रु एक हजार ३०० देखि एक हजार ६०० का दरमा धमाधम बिक्री भइरहेको छ । ग्राहकको मागअनुसार हातले कुदेर नयाँ नमूनाका विभिन्न तामाका भाँडा बनाउने गरेको कालीगढ प्रेम सुनारले जानकारी दिनुभयो ।

“ग्राहकले जस्तो बनाउन अर्डर दियो त्यस्तै खालका हातले मात्र कुदेका तामाका गाग्री, ताउलोलगायत सामान बनाउने गरेको छु, धेरैले मन पराउने गरेका छन्”, सुनारले भन्नुभयो ।

उहाँले बाउबाजेको पालादेखि तामाको भाँडा बनाउने सीप सिक्नुभएको हो । गाउँघरमा तामाका भाँडा बनाउने उद्योग नै विस्थापित हँुदा यो पेशा पनि मासिदै गएकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो । “हातमा सीप छ तर गाउँमा भएका तामाका उद्योग सबै बन्द भए, बीचमा केही समस्या प¥यो, तर अहिले भने यहाँ उद्योग सञ्चालन भएपछि काम गर्ने अवसर मिलेको छ”, सुनारले भन्नुभयो ।हातले नै कुदेर बनाएको सामान भएकाले ग्राहकले गाउँघरमा पुराना भाँडासँग साटेर नयाँ नमुनाका तामाका भाँडा लैजाने गर्छन् ।
टाढाटाढाबाट ग्राहक पुराना भाँडा बोकेर उद्योगमा आउने गर्छन् । पछिल्लो समय घर घरमा तामाका भाँडा सजाएर राख्ने चलन पनि बढ्दै गएको छ । जिल्लामा विभिन्न आधुनिक प्रविधि भित्रिएसँगै पुराना प्रविधि लोप हँुदै गएका हुन् । गाउँघरमा हातले कुँदेर बनाइएका तामाका भाँडा नयाँ प्रविधिको प्रयोगले हराउँदै गएका हुन् ।

यी सामानको सट्टामा अहिले बजारमा आधुनिक उपकरणबाट उत्पादित सामान भित्रन थालेका छन् । तामाका भाँडाको सट्टामा स्टिल र प्लाष्ट्रिकका भाँडाको प्रयोगले गर्दा तामाका भाँडा बनाउने उद्योग विस्थापित हुन पुगेका हुन् । आधुनिक उपकरणद्वारा निर्मित सामग्री बजारमा आउन थालेपछि प्रतिस्पर्धा गर्न नसक्नु र तामाका सामग्रीको उपयोग कम हुँदै जानुजस्ता कारणले यस्ता सामग्री विस्थापित हुन पुगेको हो ।

घरेलु उद्योगभित्र पर्ने भए पनि यस्ता उद्योगलाई निरन्तरता दिन कहीँकतैबाट पहल भएन् । पाल्पा जिल्लालाई तामाका भाँडाका लागि प्रख्यात बनाउन सकिने अवसर पनि थियो त्यो अवसरलाई कुनै निकायले जोगाउन नसक्दा यतिखेर हराउन पुगेको पुराना उद्यमीको भनाइ थियो । उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनप्रसाद श्रेष्ठ यस्ता उद्योग संरक्षण र विकासका लागि आफूले प्राथमिकता दिने बताउनुभयो ।

झडेवाको बगाले, हुमिन, रुप्से, बन्दीपोखरा, बौघापोखराथोक, अर्गली, ख्याहा, ताहुँजस्ता २० भन्दा बढी साविकका गाविसमा सञ्चालित उद्योगमा झण्डै एक हजारलाई रोजगारी मिलेको स्थानीयवासीले बताए । अहिले व्यवसाय नै हराउँदै गएपछि गाउँमा विदेश जाने युवाको सङ्ख्या बढ्दो छ । रासस