मन्त्रीको झापडले मुख र दाँतको भित्री भाग दुख्न थालेपछि राती नै सचिव अस्पताल भर्ना !

काठमाडौँ, ३० पुस । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवको झापट खाएका सचिव विद्यानाथ झा अस्पताल भर्ना भएका छन् ।

मन्त्री यादवको थप्पड र लात्ती प्रहारबाट मुख र दाँतको भित्री भाग दुखेको तथा दाँया हातको हाड भाँच्चिए जस्तो लागे पछि झा आईतबार रातीनै अस्पताल भर्ना भएका हुन् ।

सचिव झामाथि हातपात भएको र जनप्रतिनिधिबाटै कर्मचारी असुरक्षित हुन् थालेको भन्दै कार्यालयका कर्मचारीहरुले मन्त्रालयमा धर्ना दिएपछि कामकाज प्रभावित हुने र घटनाले उग्र रुप लिने देखिएकाले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत आफैं कर्मचारीसँग छलफलमा जुटेका छन् ।

संघीय सरकारले सशर्त अनुदानअन्तर्गतको गरिबी निवारणका उद्यम कार्यक्रमका लागि आफ्नो एनजीओलाई छनोट नगरेको निहुँमा मन्त्री यादवले झालाई हातपात गरेको बुझिएको छ ।