बिग ब्यासमा अम्पायरले ओभर गन्न बिर्सेपछि सिर्जना भयो ठुलो विवाद !

एजेन्सी, ३० पुस । अस्ट्रेलियामा जारी बिग ब्यास लिगमा आइतबार ओभर सकिएर पनि फालिएको बलमा ब्याट्सम्यान आउट भएपछि विवाद सिर्जना भएको छ ।

पर्थमा जारी सिड्नी सिक्सर्स र पर्थ स्कोर्चर्सबीचको खेलमा पर्थका अनुभवी ब्याट्स्म्यान माइकल क्लिंगर आउट हुँदा विवाद भएको हो ।

क्लिंगर ओभरको सातौं बलमा आउट भएका थिए । ओभर सकिए पछि पनि फालिएको बलमा उनी आउट भएका हुन् ।

एक ओभरमा ६ बल हुन्छ । तर, अम्पायरले बलको गणना राख्न भुलेपछि बलरलाई सातौं बल प्रहार गर्दा क्लिंगर २ रनमा आउट भए ।

सिड्नी सिक्सर्सले दिएको १७८ रनको लक्ष्य पछ्याउने क्रममा दोस्रो ओभरको सातौ बलमा सिड्नी सिक्सर्सका बलर बेन वारशुईसको बलमा माइकल क्लिंगरलाई स्टिभ ओकीफलाई क्याच थमाए ।

ओभरमा कुनै पनि वाइड र नो बल फालिएको थिएन र ६ बल फालिसकिएको थियो । जसमा पहिलो बल डट थियो भने दोस्रोमा १ रन लेगबाइबाट तेस्रोमा बाइबाट २ रन, चौथो बलमा १ रन, पाँचौ बलमा २ रन, छैठौं बलमा १ रन र सातौ बलमा आउट भएका थिए ।