सिँचाइ आयोजना अवलोकन

बेझाड, २९ पुस | प्रदेश नं ५ का भौतिक पूर्वाधार योजनामन्त्री बैजनाथ चौधरीले पाल्पा रामपुर फाँट सिँचाइ आयोजना अन्र्तगत नहरको अवलोकन गर्नुभएको छ ।

मन्त्री चौधरीले प्रदेश सरकारको मातहतमा करीब रु ३९ करोड खर्चमा नहर पुनः निर्माणका योजना बनेको बताउँनुभयो । उक्त सिँचाइ आयोजनाबाट बहुआयामिक काम भइरहेको बताउँदै मन्त्री चौधरीले पुननिर्माणमा प्रदेश सरकारले सहयोग गर्ने वचन दिनुभयो ।

सिँचाइ आयोजनाका अध्यक्ष हिरण्यराज रेग्मीले यस नहरबाट यहाँका करीब बीस हजार जनसङ्ख्या लाभान्वित भएको बताउनुभयो । कूल ७७० हेक्टर जमीन सिञ्चित भइरहेकामा अब पुनः निर्माणपश्चात् एक हजार २०० हेक्टर जमीन सिञ्चित हुने उहाँले बताउनुभयो ।

विसं २०४६ मा उद्घाटन भएको नहर रामपुरवासीको सिँचाइको स्रोत बनेको छ । नहरको नाममा २४ रोपनी जग्गा रहेको छ । द्वन्द्वकालमा क्षत्विक्षत् बनेको सो आयोजनाको कार्यालय भवन पुनः निर्माणका लागि रामपुरवासीले मन्त्री चौधरीसँग अनुरोध गरेका छन् । उहाँले रामपुरमा रहेका विभिन्न सिँचाइ आयोजनाको समेत अवलोकन गर्नुभएको थियो । रासस