एक अनौठो दृश्य : एउटा कुकुरको मृत्युमा पूरा गाउँ शोकमग्न, ब्याण्डबाजासहित निकालियो शवयात्रा !

एजेन्सी, २९ पुस । एउटा कुकुरको मृत्युमा पुरै गाउँ शोकमग्न भयो भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर भारत बिहारको एक गाउँ कुकुरको मृत्युमा साँच्चै शोकमग्न भएको छ ।

बिहारको नवादास्थित बारापाण्डेया गाउँमा कुकुरको मृत्यु भएपछि शवयात्रा निकालियो । यस शवयात्रामा ठूलो संख्यामा मलामी सहभागी भए ।

समाचार अनुसार गोलू नामको त्यो कुकुर पूरा गाउँमा प्रिय थियो । उ गाउँका बच्चाहरुसँग खेल्थ्यो । एक आवाज दिएपछि आउने र भनेअुसार काम गर्ने उसको विशेषता थियो । राती गाउँमा कुनै अपरिचत छिरेमा पूरा स्वर मच्चाउँथ्यो । उसकै कारण गाउँमा चोरी हुँदैनथ्यो । आफ्नो इमान्दारितका कारण उ सबैको प्रिय भएको थियो ।

गए राती उसको मृत्यु भयो । उसको मृत्युपछि पूरा गाउँ शोकाकुल बन्यो । खास गरेर महिला र बच्चाहरु रोए । यसपछि गाउँलेहरुले जिन्दगीभर सेवा गरेको त्यस कुकुरको अन्तिम विदाई गर्ने निर्णय गरे । ब्याण्डबाजासहित उसको शवयात्रा निकालियो । कुकुरको शवयात्रामा पूरै गाउँ उर्लियो । गाउँलेहरुले ओशिलो आँखाले उसको विदाई गरे ।

गाउँलेहरुले त्यस कुकुरलाई समाजको एक महत्वपूर्ण अंग भएको बताए । उससँग पूरा गाउँको भावानात्मक सम्बन्ध थियो । यो प्रेम दुईतर्फी थियो । गोलूले जिन्दगी भर गाउँको सेवा गरेको थियो ।