फुटबल उपाधि बलेफीलाई

चौतारा, २९ पुस | प्रथम बलेफी गाउँपालिका जिल्लास्तरीय फुटबलको उपाधि आयोजक बलेफी गाउँपालिकाले जितेको छ । उपाधिसँगै बलेफीले रु एक लाख, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

वसन्तपुर खेलमैदान लामोसाँघुमा आज सम्पन्न फाइनल खेलमा सुनकोशी गाउँपालिकालाई ३–२ गोलअन्तरले पराजित गर्दै बलेफीले उपाधि उचालेको हो । बलेफीका लागि पहिलो हाफको २१औँ मिनेटमा राजकुमार घिसिङले गोल गरेका थिए । खेलको दोस्रो हाफमा बलेफीका लागि लक्ष्मण विक र आकाश तामाङले एक÷एक गोल गरेका थिए ।

यस्तै दोस्रो हाफमा सुनकोशीका तर्फबाट आवास योञ्जन र कृजल खड्काले एक–एक गोल गरेका थिए । प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले विजेता तथा उपविजेतालाई पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा जिल्लाका दश स्थानीय तहले सहभागिता जनाएका बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षत्रीले जानकारी दिनुभयो । बलेफी गाउँपालिकाको आयोजना तथा जिल्ला फुटबल सङ्घको सहआयोजनामा प्रतियोगिता सञ्चालन भएको हो । रासस