दुर्घटनामा खुट्टा गुमाएकाहरुको लागि खुशीको खबर : चौधरी फाउण्डेसनले शुरु गर्यो कृतिम खुट्टा वितरण

काठमाडौं,२९ पुस । दुर्घटना वा अन्य कुनै पनि कारणले खुट्टा गुमाएका नागरिकहरूले अब चिन्ता लिनु पर्ने अवस्था दुर भएको छ ।

चौधरी फाउण्डेसनले नेपालमा कृतिम खुट्टा वितरण शुरू गरेसंगै अब खुट्टा गुमाएका व्यक्तिहरुको समस्या समाधान हुने भएको हो ।

आईतबार काठमाडौंको नर्भिक इन्टरनेशनल अस्पतालमा आयोजित एक विशेष समारोहकाबीच उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले कृतिम खुट्टा वितरण कार्यक्रमको औपचारिक शुभारम्भ गरे ।

चौधरी फाउण्डेसनले विएमभिएसएस सँगको सहकार्यमा नेपालमा कृतिम खुट्टा वितरण गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

पहिलो चरणमा काठमाडौंको नर्भिक अस्पतालमा पुस ३० गतेसम्म र दोस्रो चरणमा नवलपुरको गैंडाकोटस्थित सहज अस्पतालमा माघ ३ गतेदेखि ४५ दिनसम्मका लागि यो सेवा उपलब्ध हुनेछ ।

दुवै ठाउँबाट ५०० व्यक्तिहरूका लागि कृतिम खुट्टा उपलब्ध गराउने योजना रहेको चौधरी फाउन्डेसनले जनाएको छ। यो सेवा पूर्ण रुपमा निःशुल्क उपलब्ध गराइनेछ ।