उता डा केसी सत्याग्रह बस्दै, यता चिकित्सा शिक्षा विधेयक संसदमा पेश गरियो

काठमाडौं, २९ पुस । बहु चर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिवेदन २०७५ संसदमा पेस भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको असन्तुष्टिका बाबजुद पनि संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले उक्त शिक्षा विधेयक प्रतिवेदन २०७५ संसदमा आज पेश गरेकी हुन् ।

साउन २१ गते संसदले उक्त विधेयक समितिमा पठाएको थियो । समितिले छलफलका लागि दश सदस्यीय उपसमिति गठन गरी पटक पटक बैठकबाट छलफल गरेको थियो ।

उपसमितिले विधेयकमाथिका संशोधनकर्ता, मन्त्री र सरोकारवालाहरुसँग छलफल गरेको थियो । पुस २३ गते मुल समितिमा गएको प्रतिवेदन २५ गते कांग्रेसका सांसदहरुको विरोधका बाबजुद बहुमतबाट पारित भएको थियो ।

यता, सरकारले आफुसँग गरेको सहमति विपरित विधेयक प्रतिवेदन समितिबाट पारित भएपछि पुस २५ देखि डा.गोविन्द केसी इलाममा अनसनरत छन् ।