मध्यराति प्रहरीसँग गोली हानाहान, एकको मृत्यु !

रुपन्देही, २९ पुस । शनिबार राति गस्तीमा रहेको प्रहरी कार्यालय टोलीसँग गोली हानाहान हुँदा एकजनाको मृत्यु भएको छ ।

गस्तीमा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीसँग राति १२ बजे सिद्धार्थनगर नगरपालिका – १० शंकरपुरमा दोहोरो गोली हानाहान हुँदा एकजनाको मृत्यु भएको हो ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार गस्तीमा रहेको प्रहरी टोलीले चेकजाँचको लागि रोक्दा मोटरसाइकलमा आएका दुई जनाले एक्कासी गोली चलाएको र प्रहरीले पनि प्रतिरक्षाको लागि गोली चलाउँदा एक जनाको ज्यान गएको हो ।

भारतीय नम्बर प्लेट यु पी ५३ एच २०२८ को मोटरसाइकलमा आएका उनीहरूलाई चेकजाँचको लागि रोकेपछि मोटरसाइकल पछाडि बसेको व्यक्ति भागेको र चालकले नै प्रहरीमाथि गोली हानेको प्रमुख जिल्ला अधिकारी रानाले जानकारी दिए ।

अन्दाजी ३०–३५ वर्षका मृतकको शव भीम अस्पताल भैरहवामा राखिएको छ । उनको अहिलेसम्म पहिचान खुल्न सकेको छैन ।

प्रमुख जिल्ला अधिकारी रानाले मृतकको साथमा कुनै कागजात, मोबाइललगायतका पहिचान खुल्ने कुनैपनि सामान फेला नपरेको र स्थानीयले समेत पहिचान गर्न नसकेकोले भारतीय नागरिक भएको हुन सक्ने जानकारी दिए ।