औषधि गर्न नेपालगञ्ज हिडेका आमाछोरा जंगलमा मृत फेला !

रुकुम, २९ पुस । औषधि गर्न भन्दै घरबाट निस्किएका आमाछोरा जंगलमा मृत फेला परेका छन् ।

सिस्ने गाउँपालिका–६ की ३० वर्षीया रेनुका केसी शाह र उनका २० महीनाका नाबालक छोरा एटियम शनिबार जङ्गलमा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का अनुसार पुस २६ गते रेनुका आफ्नो छोरालाई लिएर औषधि गर्न नेपालगञ्ज जाने भनेर हिंडेकी थिइन् । घरदेखि तीन किलोमिटर टाढाको उदीनढुङ्गा भन्ने जङ्गलमा छोरा झुन्डिएको र आमा भुइँमा लडेको अवस्थामा फेला परेको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले बताए । दाउरा काट्न जङ्गल गएका स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

आमाको पनि घाँटीमा डोरीको दाग रहेकोले डोरी चुँडिएको हुनसक्ने उनले बताए । प्रारम्भिक अनुसन्धानबाट छोराको हत्यापछि आमाले पनि आत्महत्या गरेकोजस्तो देखिएको र बाँकी कुरा भने शव परीक्षण र थप अनुसन्धानपछि मात्रै खुल्ने प्रहरी नायब उपरीक्षक तिम्सिनाले बताए ।