बजेट अभावका कारण अमेरिकामा सरकारी कार्यालय आशिंक बन्द, ८ लाख कर्मचारीले तलबबिहिन !

एजेन्सी, २८ पुस । अमेरिका जस्तो देशमा पनि बजेट अभावकै कारण सरकारी कार्यालय बन्द हुन्छ भन्ने सुन्दा अचम्म लाग्छ, तर यो सत्य हो ।

सन् १९९५–१९९६ मा तत्कालीन राष्ट्रपति बिल क्लिन्टनको पालामा समेत बजेट नभएर २१ दिन बन्द भएको सरकारी कार्यालय यो पटक भने २२ दिन पुगिसकेको छ । यस अर्थमा बजेट अभावकै कारण अमेरिकाको सरकारी कार्यालय बन्द हुनुले नयाँ रेकर्ड कायम गरेको छ ।

मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन रकम नछुट्याएसम्म बजेट स्वीकृत नगर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको अडान छ । डेमोक्र्याट्सले ५.७ बिलियन डलरको माग अस्वीकार गरेका छन् ।

यो अन्योलका कारण एक चौथाइ संघीय सरकार मातहतका कार्यालय बन्द छन् भने ८ लाख कर्मचारीले तलब पाएका छैनन् ।

यसैबीच, राष्ट्रपति ट्रम्पले राष्ट्रिय आपत्काल घोषणा गरी आवश्यक रकम जुटाउने सम्भावनाको सम्बन्धमा कंग्रेसले नै समस्याको समाधान गर्नु उपयुक्त विकल्प हुने बताएका छन् ।