अमेरिकी सेनाको जागिर छोडेर संसद बनेकी पहिलो हिन्दू महिलाले अमेरिकी राष्ट्रपतिमा उम्मेद्वारी दिदै !

एजेन्सी, २८ पुस । इतिहासमै पहिलो पटक अमेरिकाको नयाँ राष्ट्रपति पदमा एक हिन्दू महिलाले उम्मेद्वारी दिने तयारी गरेकी छिन् ।

अमेरिकाकी प्रथम हिन्दू सांसद समेत रहेकी तुलसी गबार्डले २०२० को राष्ट्रपति निर्वाचनका लागि आफूले उम्मेद्वारी दिने निर्णय गरेको बताएकी हुन् ।

उनले आउँदो हप्ता औपचारिक रुपमा उम्मेद्वारीको घोषणा गर्ने बताएकी छिन् ।

उनले यस निर्णय लिनुका पछाडि कयौँ कारण रहेको भन्दै उनले विभिन्न चुनौतीको सामना गरिरहेका र आफ्नो बारेमा चिन्तित रहेका नागरिकलाई आफूले सहयोग गर्न चाहेको बताइन् । उनले सीएनएनसंग कुराकानी गर्दै भनिन्, ‘यहाँ स्वास्थ्य सेवाको पहुँच, अपराधिक न्याय सुधार तथा जलवायु परिवर्तन जस्ता मुख्य समस्या छन्, म त्यस्ता समस्यासँग जुध्न चाहन्छु ।’

३७ वर्षकी तुलसीले हवाई राज्यबाट ४ पटकसम्म सांसद पदमा निर्वाचन जितिसकेकी छिन् । तुलसीले हरेक पटक चुनाव जित्दा विशाल अन्तरले प्रतिद्वन्द्वीलाई पराजित गरेकी छिन् ।