कृत्रिम अभाव सृजना गरेर मलमा लाखौं डलरको चलखेल !

काठमाडौं, २८ पुस । मलको कृतिम अभाव सिर्जना गरेर लाखौँ रुपैयाँ घोटाला भएको खुलेको छ ।

सरकारी स्वामित्वको कृषि सामग्री कम्पनीले रकमको चलखेल गर्न मल आपूर्ति गर्ने ठेकेदार कम्पनीलाई आफूखुशी म्याद थप्दै आएको खुलासा भएको हो ।

कृषि सामग्रीले ‘जानाजान’ हरेक आपूर्तिकर्ता कम्पनीलाई पटकपटक म्याद थप्ने गरेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कूल खपतको करिब ७५ प्रतिशत मलको आयात तथा बिक्री वितरण गर्ने जिम्मा कृषि सामाग्री कम्पनीलाई दिएको छ । नियतवशः कृषि सामग्री कम्पनीले समयमा मल आपूर्ति नगर्दा अहिले देशभरि गहुँबालीलाई आवश्यक परेको युरिया मलको चर्को अभाव भएको छ ।

‘डलरको चलखेलमा आफूखुशी सम्पूर्ण आपूर्तिकर्तालाई पटकपटक म्याद थप गर्दा निर्धारित बालीको बेलामा कहिले मल आपूर्ति हुँदैन,’ कम्पनी स्रोतले भन्यो । स्रोतका अनुसार यसरी एक पटकमा म्याद थप गर्दा प्रतिमेट्रिक टनमा २५ देखि ३० डलरको खेल हुने समाचार आजको अन्नपूर्ण पोस्टले छापेको छ ।