५०० बढि किर्नाले एक अजिङ्गरलाई मार्न लागेपछि …!

एजेन्सी, २७ पुस । सबैभन्दा डरलाग्दो जीव अजिंगरलाई नै सानो जीव किर्नाले हैरान पारेको छ ।

अस्ट्रेलियाको क्विन्सल्याण्डमा ५०० भन्दा धेरै किर्नाहरुले अजिंगरको शरीरको रगत चुसेर अजिंगरलाई नै सिथिल बनाएका छन् ।

हेर्दै आङ हुने किर्नाको हुलबाट अजिंगरलाई उद्दार गरिएको छ । हेर्दा बिरामी जस्तो देखिने उक्त अजिंगर एउटा घरको स्विमिङ्ग पुलमा पल्टिरहेको अवस्थामा फेला परेको थियो । उद्धारकर्ताहरुले वन्यजन्तु क्लिनिकमा लगेर उक्त सर्पको उपचार गरिरहेका छन् ।

गोल्ड कोस्ट र ब्रिस्बेनका वन्यजन्तु समाउने काममा कार्यरत ह्यारिसनका अनुसार उक्त सर्प स्विमिङ्ग पुलमा आएर आफ्नो शरीरको किर्नाहरु पानीमा झार्न खोजेको हुन सक्ने बताए ।

किर्नाहरुले सर्पको शरीर चुसेर सर्प सुन्निएको थियो, सर्पलाई झोलामा हालेर उद्धार केन्द्र लैजादा पनि गुच्चाले भरिएको झोला उचालेको जस्तो मसुस भएको ह्यारिसनले सुनाए ।