फुट्यो विवेकशील साझा पार्टी, रन्जु दर्शनाले छाडिन् रविन्द्र मिश्रको साथ !

काठमाडौं, २७ पुस । एकीकरण भएको एक वर्ष नबित्दै विवेकशील साझा पार्टी फुटेको छ ।

रबिन्द्र मिश्र र उज्वल थापाको संयुक्त नेतृत्वमा रहेको पार्टीको आगामी रणनीति, नेतृत्वको भूमिका लगायतका विषयमा पार्टीभित्र मतभेद चुलिएपछि पार्टी फुटमा पुगेको हो ।

पार्टीको उज्वल थापा समूहका १६ सदस्यले विवेकशील नेपाली दल नाम माग गर्दै नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । निवेदन दिनेमा संयोजक थापा, रन्जु दर्शना, मिलन पाण्डे, विराज भट्ट श्रेष्ठ, रमेश पौडेल, सुवुना भट्ट, डा. अंशु थापा लगायत रहेका छन्।पार्टीको नाम ‘विवेकशील नेपाली दल’ प्रस्ताव गरिएको छ ।

उज्वल थापाले हालै मात्र पार्टी गलत बाटोमा हिँडिरहेको निष्कर्षसहित समिक्षा प्रतिवेदन सार्वजनिक गरेका थिए । मिश्र र उनीपक्षका नेताहरुले मात्रै पार्टीमा शक्तिको प्रयोग गरिरहेका र विवेकशीलबाट आएकाहरुलाई कुनैपनि जिम्मेवारी नदिइएको थापा पक्षधरको आरोप छ ।