विदेश पलायनको परिपाटी अन्त्य हुनुपर्छ ः मन्त्री जम्मरकट्टेल

भरतपुर, २७ पुस | प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मरकट्टेलले देशमा सीप सिकेर विदेश पलायन हुने परिपाटीको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।

नेपाल कपडा तथा सिलाइ व्यवसायी सङ्घ केन्द्रीय कार्यसमितिको १७ औँ साधारणसभाको आज नारायणगढमा उद्घाटन गर्दै मन्त्री जम्मरकट्टेलले प्रदेश सरकारले स्थानीय तहका प्रत्येक वडाका दुई युवालाई व्यवस्थित रुपमा तालीमको व्यवस्था गर्दैछ भन्नुभयो । उहाँले तालीम प्राप्त व्यक्तिले पाँच वर्ष गाउँपालिकाको सेवा गरेर नागरिकलाई सीपमूलक तालीम प्रदान गर्नेछ भन्नुभयो ।

कपडा तथा सिलाइ व्यवसायीले देशभित्रै ठूलो जनशक्तिलाई रोजगार प्रदान गरेको भन्दै उहाँले व्यवसायमा देखिएका समस्या समाधानमा प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो । शनिबारसम्म चल्ने साधारणसभामा देशका ४५० प्रतिनिधिको सहभागिता छ । साधारणसभाले सङ्घको विधान संशोधन गर्दै नेपाल कपडा तथा सिलाइ व्यवसायी सङ्घलाई महासङ्घ बनाउँदैछ । रासस