ठगि मुद्दाका फरार वरिष्ठ गीतकार योगेन्द्रमणि दाहाल पक्राउ !

काठमाडौँ , २७ पुस । वरिष्ठ गीतकार योगेन्द्रमणि दाहाल पक्राउ परेका छन् ।

ठगी मुद्धाका आरोपित दाहाल आज काठमाडौंबाट पक्राउ परेका हुन् ।

२०७४ साल मंसिर १४ गते ठगी मुद्धामा अदालतले १२ करोड ३५ लाख रुपैयाँ जरिवाना र दुई वर्ष कैदको फैसला सुनाएपछि फरार रहेका दाहाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

दाहालले नेपाल बिटविन एण्ड ब्यारेल लिमिटेडको लेखा अधिकृत रहेका बेला ठुलो रकम हिनामिना गरेको भन्दै २०७३ सालमा दायर गरिएको मुद्धामा अदालतले २ करोड ५० लाख धरौटीमा दाहाललाई छाडेको थियो ।

गीतकार दाहालले २०४६ सालदेखि अमलेखगञ्जमा रहेको अलकत्रा कम्पनीको लेखा फाँट सम्हाल्दै आएका थिए । कम्पनीले उनीमाथि छानबिन अघि बढाउँदा रकम हिनामिना भएको देखिएपछि प्रहरीमा उजुरी दिएको थियो ।

दाहाल दुई पटक गीतकार संघको अध्यक्ष समेत भइसकेका छन् ।