एक वर्ष सम्म मोबाइल नचलाए कोकाकोला कम्पनीले दिने भयो एक करोड १४ लाख रुपैयाँ नगद पुरष्कार, यस्तो छ प्रक्रिया

एजेन्सी । विश्वका अन्य देशमा झैँ नेपालमा पनि मोबाइलको प्रयोग सर्वब्यापी बन्दै गएकाे छ। आजकल यति सम्म भइसकेको छ कि, मोबाइल बिना एकछिन पनि मान्छे रहन नसक्ने भइसकेको छ।

अन्य मुलुक झैँ नेपालमा प्रचुर सम्भावना भएकाले नै मोबाइलका नयाँ-नयाँ ब्राण्ड भित्रिरहेका छन् । स्मार्टफोनको बजारमा विश्व बजारमै देखिएको तीव्र प्रतिस्पर्धा नेपाली बजारमा पनि कम रोचक छैन ।

स्मार्टफोनले वर्षेनी देशको ठुलो रकम विदेशिने गर्दछ । महंगा सेटहरुमा नेपाली उपभोक्ताको आकर्षण बढ्दा आयात दर उकालो लागिरहेको छ । नेपालमा पछिल्लो समयमा मिड रेन्ज बजेट मोबाइलको प्रयोग सबैभन्दा उच्च गतिमा बढिरहेको छ ।

यहि स्मार्टफोनको अत्यधिक प्रयोग हुन थालेपछि भिटामिन वाटर नामको एक कम्पनीले हालै एक प्रतिस्पर्धाको आयोजना गरेको छ । यो प्रतिस्पर्धामा भाग लिने व्यक्तिले एक वर्षसम्म आफ्नो मोबाइल फोन वा ट्याबलेट चलाउन पाउने छैनन् । अहिलेको जमानामा यो सायदै सम्भव होला तर कोकाकोलाको स्वामित्वमा रहेको यो कम्पनीले यसो गर्नेलाई एक लाख डलर ( एक करोड १४ लाख रुपैयाँ) नगद उपहारको घोषणा गरेको छ ।

भिटामिन वाटरको #nophoneforayear चुनौतीका लागि व्यक्तिले तीन सय ६५ दिन स्मार्टफोन नचलाइ बस्नुपर्नेछ । यसका साथै आफ्नोबाहेक अरु कसैको फोन वा ट्याब्लेट पनि चलाउन पाइने छैन । प्रतिस्पर्धाको अवधिभर प्रतिस्पर्धीले एउटा सम्झौता पत्रमा हस्ताक्षर गर्नुपर्छ । एक वर्षसम्म नियममा बस्नेलाई कम्पनीले एक लाख डलरको पुरस्कार दिनेछ । सुन्दा सजिलो लाग्ला तर तपाईंले कम्पनीलाई यसका लागि आफू लायक छु भनेर विश्वास दिलाउनुपर्छ ।

यो अचम्मको प्रतिस्पर्धामा भाग लिन तपाईंले ट्वीटर वा इन्स्टाग्राममा फोटो पोष्ट गर्दै भिटामिन वाटरलाई आफ्नो स्मार्टफोनबाट किन ब्रेक चाहिएको छ भनेर बताउनुपर्नेछ । यसमा तपाईंले ह्यासट्याग #nophoneforayear र #contest पनि प्रयोग गर्नुपर्छ । रचनात्मक, रमाइला र क्वालिटीको आधारमा निर्णय लिइनेछ । प्रतिस्पर्धामा भाग लिनका लागि जनवरी ८ तारिखसम्मको समय छ । कम्पनीले जनवरी २२ तारिखमा प्रतियोगीको घोषणा गर्नेछ ।

छानिएका प्रतियोगीले फोन छुनै नपाउने भन्ने होइन, भिटामिन वाटरले उनीहरुलाई निकै पुरानो ह्यान्डसेट उपलब्ध गराउने छ जसमार्फत कुराकानीमात्र गर्न सकिनेछ ।


भिटामिन वाटरले यो एक ठट्टा मात्रै नभएर प्रतिस्पर्धा नै भएको पुष्टि गरेको छ । ब्रान्ड म्यानेजर नातालिया सुवारेजले सिएनबीसीलाई दिएको जानकारी अनुसार मानिसहरुले आफ्नो खाली समयमा केही रमाइलो कार्य गर्न सकून् भन्ने उद्देश्यसहित यस्तो प्रतिस्पर्धा गराउन लागेको हो ।

मानिसहरु आफ्नो फोन एकैछिन पनि नहेरी बस्न सक्दैनन्, एक वर्ष त निकै लामो समय हो । त्यसकारण भिटामिन वाटरले ६ महिनासम्म मोबाइल फोन नचलाउनेका लागि पनि पुरस्कारको घोषणा गरेको छ । ६ महिनासम्म स्मार्टफोन नचलाउनेले १० हजार डलर पाउनेछन् ।

प्रतियोगीले स्मार्टफोन प्रयोग गरेको छ छैन भनेर कसरी पत्ता लगाउला भनेर सोचिराख्नुभएको होला । यसबारे पूर्ण नियम सार्वजनिक भइसकेको छैन तर कम्पनीका अनुसार पुरस्कार प्रदान गर्नुअघि प्रतियोगीले पोलिग्राफ टेस्टको सामना गर्नुपर्ने बताएको छ । – न्युज२४नेपालबाट

०००

यो पनि हेर्नुहोस :

यी हुन मर्नुभन्दा पहिले नछुटाई हेर्नु पर्ने रोमान्टिक १० फिल्महरु !

मानिसले फरक फरक तरिकाले मनोरंजन लिने गर्दछन् | कोहि घुम्न मन पराउछन् त कोहि सिनेमा हेर्न कोहि चित्र कोर्न सबैले आफ्नै आफ्नै तरिकाले रमाउने गरेको पाइन्छ | संसारमा मनोरन्जन कै निम्ति यस्तो फिल्म पनि बनेका छन्, जुन अरुभन्दा बिल्कुलै फरक छन् |

तपाइको जीवनकालमा यी १० फिल्महरु हेर्न कसैगरी नछुटाउनुहोला !

१ टाइटनिक,सन् १९९७

फरक वर्गका केटाकेटीको सदाबहार प्रेमकथा हो यो । जेम्स क्यामरुन निर्देशित यस फिल्ममा लियोनार्डो डिकाप्रियोलाई गरिब आर्टिस्ट र केट विन्स्लेटलाई सम्पन्न केटीको भूमिकामा देख्न पाइन्छ ।

टाइटनिक पानीजहाजको सत्य दुर्घटनाको फिक्सनल लभ स्टोरी भएकाले पनि यो फिल्म निकै चर्चित भयो । सन् १९९७ मा यसले ११ विधामा ओस्कार अवार्ड जितेको थियो । रोमान्टिक फिल्म हेर्न चाहनेका लागि ‘क्याप्सुल’ समान छ टाइटनिक ।

२ अ वाल्क टु रिमेम्बर,सन् २००२

यो युवा पुस्तामा एकदमै लोकप्रिय फिल्ममध्ये एक हो । मोडर्न सोसाइटीमा बिग्रिएको केटा प्रेममा परेपछि आउने परिवर्तनको कथा भन्छ यसले । शेन वेस्ट र म्यान्डी मुरेको चरित्र झट्टै आत्मसात् गर्न सकिन्छ । एडम स्याकमन निर्देशित यस फिल्मले जीवनमा प्रेमको महत्त्व दर्शाउँदै प्रेमप्रति सकारात्मक भाव पैदा गर्छ ।

३  द नोटबुक,सन् २००४

अर्को कालजयी लभस्टोरी हो यो । अल्जाइमर भएकी बूढी श्रीमतीलाई बूढाले उनीहरूकै प्रेमकथा नोटबुकबाट पढेर सुनाउँछन् । केटा गरिब र केटी धनी भएकाले मायालाई टिकाउन उनीहरूले कठोर त्याग गरेका हुन्छन् । निक क्यासभेटले निर्देशन गरेको यो फिल्मले मायामा प्रतिबद्धता डिमान्ड गर्छ । ‘फास्टफुड लभ’ को जमानामा आइपुगेको आजको पुस्ताले हेर्नैपर्ने फिल्म हो यो ।

४  फाइभ हन्ड्रेड डेज अफ समर,सन् २००९

एउटी केटी छे, जसलाई प्रेममा फिटिक्कै विश्वास छैन । त्यही केटीको प्रेममा परेको केटाको कथा हो यो । जोडी आफंैले रोज्ने हो कि भावीले लेखेको हुन्छ ? निर्देशक मार्क वेबले फिल्ममा यही प्रश्नलाई डिल गरेका छन् । यसको कथा निकै रमाइलो शैलीमा भनिएकाले पनि जो कोहीको मन जित्छ । अझ प्रेमप्रति वितृष्णा जाग्नेले त हेर्नैपर्ने फिल्म हो यो ।

५  बिस्ट्ली,सन् २०११

मिथमाथि आधारित यस फिल्ममा एउटा केटालाई ‘तैंले एक वर्षभित्र माया गर्ने मान्छे भेटाइनस् भने बर्बाद हुन्छ’ भन्ने सराप दिन्छ । अनि कलेज पढ्ने केटा त्यही मायाको खोजीमा लाग्छ । निर्देशक डानियल बान्जले एउटा मान्छेको जीवन पूर्णताका लागि प्रेम कतिको महत्त्वपूर्ण हुन्छ भन्ने देखाउने प्रयास गरेका छन् । प्रेम गर्ने जो कोहीका लागि प्रिय हुन सक्छ यो फिल्म ।

६  रिमेम्बर मी,सन् २०१०

प्रेमले आत्मविश्वासी र बलियो त बनाउँछ नै । तर सम्हाल्न जानिएन भने त्यही सशक्त पक्ष कमजोरी हुन पनि समय लाग्दैन । यही यथार्थलाई पर्दामा बुनेका छन् निर्देशक एलेन कुल्टरले । मुख्य पात्रद्वय रोबर्ट प्याटिसन र इमिल डे रेभिन पारिवारिक वियोगबाट गुज्रिएका हुन्छन् । प्रेमलाई दिगो र बलियो बनाउन खोज्नेका लागि रिमेम्बर मीले मन जित्न सक्छ ।

७  ब्लु भ्यालेन्टाइन,सन् २०१०

योचाहिँ विवाहित जोडीको प्रेमकथा हो । त्यो पनि श्रमिक वर्गको । केटा पेन्टर हुन्छ, केटी नर्स । तर प्रेमको शक्तिले केटाभित्रको क्षमता पहिल्याउन सफल हुन्छिन् युवती । जीवन सुखमय बन्छ । विवाहित जोडीले आफ्नो प्रेमलाई बचाउन गर्नुपर्ने त्यागको वरिपरि घुमेको यस फिल्मलाई डेरेक सियानफ्रेन्सले निर्देशन गरेका हुन् । यो हेर्दा मन आनन्दित हुन्छ ।

८  माई स्यास्सी गर्ल,सन् २००८

संयोगले भेटेको जोडीको प्रेमले स्थायित्व पाउला त ? त्यसमाथि केटा लद्दु टाइपको हुन्छ, केटी स्मार्ट । निर्देशक यान सामुयलले बाहिरबाट हेर्दा यस्तै नसुहाउने केटाकेटीले पनि एकअर्कालाई बुझ्ने समय दिएमा प्रेम जागृत हुन्छ भन्ने देखाउन खोजेका छन् । साथै हिजो भाग्यमा जे लेखेको थियो, त्यो पूरा भइहाल्छ भन्ने सन्देश दिइएको छ । यही फिल्मबाट ‘इन्स्पायर्ड’ भएर आलोक नेम्वाङले सानो संसार बनाएका थिए ।

९  हाउ टु लुज अ गाय इन टेन डेज,सन् २००३

यो कमिक लभ स्टोरी हो । जहाँ दस दिनमा कसैलाई पाउने र घुमाउने कथा भनिएको छ । बाजी राखेको भरमा केटी पट्याउन खोज्छ मूल पात्रले । आजको पुस्ताको प्रेममा भावनाभन्दा लहडको भूमिका अहम् हुन्छ भन्ने देखाउन खोजिएको छ । आधुनिक प्रेममाथिको निर्देशक डोनाल्ड पेट्रीको थोरबहुत व्यंग्यका रूपमा पनि अथ्र्याउन सकिन्छ यो फिल्म ।

१०  लिप एयर,सन् २०१०

आइरिस परम्पराअनुसार ‘लिप डे’ मा कुनै केटीले प्रस्ताव राख्यो भने केटाले हमेसा स्वीकार गर्छ/गर्नुपर्छ । सोही कारण फिल्मकी मुख्य पात्र अन्ना ब्राडी आफ्नो

प्रेमी जेरेमीलाई पर्पोज गर्न बोस्टनबाट डब्लिन यात्रा गर्छिन् । तर यात्राका क्रममा विभिन्न अवरोध आउँछ । तैपनि हार मान्ने त कुरै भएन । निर्देशक आनन्द टुकरले मायालाई उत्सवका रूपमा मनाउन एउटा केटीले लिएको चुनौतीलाई निकै रमाइलो शैलीमा पर्दामा बुनेका छन् ।