अपराध स्वीकारेको भनिएका निर्मलाको छिमेकी प्रदीप र विशालकाे डिएनए रिपोर्ट कञ्चनपुर पठाइयाे, दुवै रिपाेर्ट नेगेटिभ

निर्मला हत्यासम्बन्धी प्रतिवेदन हस्तान्तरण

काठमाडाैँ, ३ पुस । कञ्चनपुरकी निर्मला पन्तको घटना अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीको भूमिकाउपर छानबिन गर्न गठित समितिले आज प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई अध्ययन प्रतिवेदन बुझाएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक धीरु बस्न्यातको संयोजकत्वमा गठित समितिले आज प्रतिवेदन बुझाएको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिनुभयो । प्रतिवेदनको आवश्यक अध्ययनपछि थप कारवाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।

भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त सोही नगरपालि–१८ स्थित उखुबारीमा गत साउन ११ गते मृतावस्थामा फेला परेकी थिइन् । सो घटना सम्बन्धमा अनुसन्धान र सोमा खटिएका प्रहरी अधिकृत तथा जवानको भूमिकाको विषयमा छानबिन गरी रायसुझावसहितको प्रतिवेदन प्रस्तुत गर्न गत भदौ ३१ गते उक्त समिति गठन गरिएको थियो ।

निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा ‘मुख्य अभियुक्त’ भनिएका प्रदीप रावल र विशाल चौधरीको डिएनए रिपोर्ट आएको छ । साे ‘सिलबन्दी’ गरेर प्रहरी प्रधान कार्यालय काठमाडाैँमार्फत कञ्चनपुर पठाइएकाे खबर न्युज२४नेपाल्ले लेखेको छ । प्रहरीको विधि विज्ञान प्रयोगशाला र नास्टले शुक्रबार दुबैजनाको रिपोर्ट प्रहरी प्रधान कार्यालयमा बुझाएको थियो ।

प्रहरी प्रधान कार्यालयले आइतबार कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुबेरसिंह कडायतलाई जानकारी गराउँदै रिपोर्ट लिन आधिकारिक ब्यक्ति पठाउन भनेको थियो । अभियुक्तकाे रूपमा हिरासतमा लिइए पनि रावल र चाैधरीमाथि अभियाेग पुष्टि गर्ने कुनै भरपर्दाे अाधार भने थिएन । उनीहरूकाे डिएनए प्रहरीको विधि विज्ञान प्रयोगशालामा टेष्ट गरिएकाे र साे रिपाेर्ट साेमबार कञ्चनपुर पठाइसकिएकाे स्राेतले जानकारी दिएकाे छ ।

अाजै कञ्चनपुर पुग्ने रिपाेर्ट उतै सरकारी वकिलकाे राेहबरमा खाेलिने जनाइएकाे छ । स्राेतका रावल र चाैधरीकाे डिएनए पनि निर्मलाको भेजिनल स्वाबबाट संकलन गरिएकाे डिएनए प्रोफाइलसँग ‘म्याचिङ’ भएकाे छैन । यसअघि मुख्य अभियुक्त भनिएका कञ्चनपुरकै मानसिक राेगी दीलिपसिंह विष्टकाे पनि डिएनए मिलेकाे थिएन ।

त्यसैगरी जनस्तरबाट शंका गरिएका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्ली विष्ट र उनका छाेराकाे समेत गरी हालसम्म २४ जनाको डिएनए परीक्षण गरिसकेको छ, तर कुनैकाे पनि डिएनए म्याच भएकाे छैन । निर्मला हत्याकाे अनुसन्धान गरिरहेकाे केन्द्रीय अनुसन्धान ब्युरोले प्रदीपलाई मंसिर २० र विशाललाई मंसिर २१ मा नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।

रावलले हत्या गरेकाे स्वीकारेकाे प्रारम्भिक बयानमा बताएकाे भन्दै प्रहरीले सार्वजनिक गरेकाे थियाे । तर पछि उनीहरू निर्मला हत्या भएकाे दिन कुखुरा चाेरेकाे अाराेपमा प्रहरी हिरासतमै रहेकाे कुरा बाहिर अाएकाे थियाे । गत साउन १० गते हराएकी कञ्चननपुर भीमदत्त नगरपालिकाकी निर्मला पन्त भोलिपल्ट घरबाट करिब दुई किलोमिटर टाढा उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी थिइन्।

प्रहरी प्रधान कार्यालय महिला तथा बालबालिका सेवा निर्देशनालयबाट २० जिल्लामा सञ्चालित महिला तथा बालबालिका सेवा केन्द्र स्थापना गर्नेसम्बन्धी छलफल कार्यक्रम आज स्म्पन्न भएको छ ।

निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक हरिभक्त प्रजापतिले परियोजनाको सफलता, प्रतिफल तथा सिकाइबारे सम्बन्धित सबै सरोकारवाला निकायसँग अनुभव आदानप्रदान गर्न सफलता मिलेको बताउनुभयो । परियोजनामा जनचेतना कार्यक्रमको प्रभावकारिता, क्षमता अभिवृद्धि, समन्वय र सहकार्यलगायत आगामी दिनमा परियोजनालाई थप प्रभावकारी बनाउने रणनीति समेटिएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमले महिला तथा बालबालिकासम्बन्धी कार्यक्रमलाई समेत सँगसँगै लगिएको र आगामी दिनमा थप ५७ जिल्लामा परियोजनालाई अगाडि लगिने उहाँले जानकारी दिनुभयो । छलफलमा गृह मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग, एशियाली विकास बैंकलगायत निकायका प्रतिनिधिको सहभागिता थियो । रासस

०००

यस अघिको समाचार पढ्नुहोस :

छिमेकी युवकद्वारा निर्मला पन्तको हत्या गरेको साबिती बयान

काठमाडौँ, २० मङ्सिर । निर्मला पन्तका छिमेकी प्रदीप रावलले निर्मलाको हत्यामा संलग्न रहेको साविती बयान दिएका छन्। उनले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सँग हत्या स्वीकार गरेका हुन्।

कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्या पछी शव भेटिएको दिन देखि बेपत्ता रहेका रावल भारत मै बसेको खुलेको छ । तर केहि दिन अगाडी मात्र काठमाडौँ आएको सुचना पाएपछि प्रहरीले पक्राउ गर्न सफल भएको थियो ।

यस घटनाले सरकार र प्रहरी प्रसासन कै बदनाम गरिरहेको बेला गए राती नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको उपस्थिति मै रावलको बयान लिइएको सीआइबी स्रोतले जानकरी दियो । रावलले निर्मला पन्तको हत्या आफैले गरेको स्वीकारे पनि उनको डीएनए परिक्षणको लागी ल्याबमा पठाएको बताएको छ ।

रावलको बयान पछी प्रहरीले कञ्चनपुरबाट थप व्यक्तिलाई पक्राउ गरी काठमाडौँ ल्याएको छ । पक्राउ परेका रावलको आमाबुबा भारत मै बस्दै आएका छन् ।

रावलको डीएनए रिपोर्ट आएपछि थप अनुसन्धान हुने सीआइबीले बताएको छ ।