निर्माणमा ढिलासुस्ती गरेपछि कालोसूचीमा परेको पप्पु कन्स्ट्रक्सनले अब कुनै पनि निर्माणको टेन्डरमा भाग लिन नपाउने

काठमाडौं, ४ मंसिर । कालो सुचिमा परेको पप्पु कन्स्ट्रक्सनलाई सरकारले सम्पूर्ण टेण्डर प्रक्रियामा रोक लगाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै अर्काे सूचना जारी नभएसम्मका लागि कुनै पनि टेन्डरमा भाग लिनबाट पप्पुलार्इ राेक लगाएकाे हाे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मंगलबार जारी गरेको सूचनामा सिक्टा आयोजनाले गरेको उजुरी अध्ययन गर्दा पप्पु कन्स्ट्रक्सनलाई तत्काल अन्य खरिद कार्यको जिम्मेवारी दिँदा मुलुकलाई थप हानी नोक्सानी पर्न सक्ने देखिएको उल्लेख छ । ठेक्का सम्झौता गरेर समयमै काम नसक्ने तथा गुणस्तरहीन काम गर्ने गरेकाे अाराेप खेप्दै अाएकाे कोस्टल/पप्पु जेभीलाई सिक्टा सिँचाइ आयोजनाकाे उजुरी एवं सिफारिसका अाधारमा कालाेसूची कारबाही बारे अनुगमन कार्यालयबाट टुंगाे नलाग्दािसम्मका लागि टेन्डरमा राेक लगाएकाे हाे ।

पप्पु कन्ट्रक्सन कालोसूचीबाट नहटेसम्म उसलाई कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा सहभागी नगराउन पनि कार्यालयले आग्रह गरेको छ । नहर निर्माणको काम समयमै नसकेको भन्दै सिक्टा आयोजनाले २९ कात्तिकमा निर्माण कम्पनी कोस्टाल पप्पु जेभीसँगको ठेक्का सम्झौता तोड्दै कालोसूचीमा राखेको थियो । राष्ट्रिय गाैरवकाे अायाेजना सिक्टा सिँचाइअन्तरगत डडुवा सिँचाइकाे ‘हेडवर्क्स’ निर्माणका लागि पप्पुले ठेक्का सम्झाैता हात पारेकाे थियाे ।

डडुवा सिँचाइ आयोजनाकाे २३ किलोमिटर लामाे नहर निर्माणका लागि २०७३ असारमा कोस्टल/पप्पु जेभीसँग सम्झौता भएकाेमा सम्झौताअनुसार यही कात्तिक १ गतेभित्र सबै निर्माण कार्य सकिनुपर्ने हाे । तर ७ प्रतिशत मात्र निर्माण प्रगति भएकाे र त्याे पनि गुणस्तरहीन पाइएपछि सरकारले कात्तिक २१ गते पप्पुसँगको ठेक्का तोडेको थियो ।