राष्ट्रपति विद्यादेवी भण्डारीलाई विलासी गाडी किन्न ४ कराेडले नपुगेपछि १८ करोड निकासा

काठमाडौं । नेपाल सरकारले सेनामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘विलासी’ गाडीको सेट नै खरिद गर्न रकम निकाशी गरिसकेको छ । राष्ट्रपति औपचारिक कार्यक्रममा जाँदा चढ्ने, अनौपचारिक रूपमा उपयोग गर्ने, सुरक्षा अधिकारीले प्रयोग गर्नेसहित आठ गाडी किन्ने तयारी छ। सेनाले १६ करोड मागेको थियो। सरकारले सेनाको माग अध्ययन गरेर अहिले १४ करोड ३० लाख रुपैयाँ निकासा गरेको समाचार अाजकाे अन्नपूर्ण पाेस्टमा छ।

तर गाडी खरिदको प्रक्रिया भने २०७४ असारमै अघि बढेको एक अधिकारीले बताए। राष्ट्रपति चढ्ने गाडी बाटैमा रोकिएको र सुरक्षामा समेत समस्या देखिन थालेको भन्दै नयाँ किन्न लागिएको थियो। सरकारले त्यतिबेला राष्ट्रपतिलाई गाडी किन्ने प्रयोजनमै ४ करोड रुपैयाँ छुट्याएको थियो। सेनाले सुरक्षाको निम्ति असहज भएको भन्दै त्यति रकमले नपुग्ने बताएको थियो।

विलासी गाडी खरिदको लागी केही दिनअघि मात्रै रकम निकासा भएको अर्थ मन्त्रालय उच्च स्रोतले बतायो। गत वर्षकै मन्त्रिपरिषद्को निर्णयअनुसार सरकारले १४ करोड ३० लाख थप बजेट दिएको हो। गाडी खरिद शीर्षकमै १८ करोडभन्दा बढी रकम छुट्याइसके पनि कुन प्रकारको कस्तो गाडी ल्याउने भन्ने सेनाकै जिम्मामा छ। सैयौ गाडीहरु सिंहदरवारमा सडेर गइरहेको अवस्थामा नेतृत्वबाट राज्यकोषको करोडौ रुपैया पुन: गाडी मै लगानी गर्दा देशको ढुकुटी धरासायी बनेको भन्दै सर्बसाधारणले गुनासो गरिरहेका छन ।