पोखरामा एक महिलाले गरिन आत्महत्याको असफल प्रयास : शरीरमा मट्टितेल खनाएर आँफैलाई आगो लगाइन !

कास्की, १६ पुस । सायद जीवनदेखि हार खाएपछि मानिसले मृत्यु रोज्छन्, अनि आफुले आफैलाई मार्न अनेक हर्कत गर्छन् । कसैले झुण्डिएर आत्महत्या गर्छन्, कोहि नदीमा हाम फाल्छन्, कसैले बिष सेवन गर्छन् त कसैले आफैमाथि गोलि ठोक्छन् । तर यी सबै किसिमका आत्महत्या भन्दा फरक किसिमको घटना पोखरामा घटेको छ ।

हो, पोखरामा एक महिलाले अस्पताल अगाडि आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेकी छिन् । तर उनको त्यो प्रयास असफल भएको छ ।

लामो समयदेखि पोखरामा बस्दै आएकी भारतीय मुलकी ती महिलाले पोखराको पृथ्वी चोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पताल अगाडि मट्टिटेल खन्याएर आँफैले आँफैलाई आगो लगाएर जल्ने प्रयास गरेको प्रत्यक्षदर्शी सुरज गुरूङले बताएका छन् । गुरूङले उनको तस्बिर समेत खिचेका थिए ।

उनी आफैंलाई आगो लगाएर बाटोमा लडिबुडी खेलेपछि प्रत्यक्षदर्शीले आगो निभाएका थिए । उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । उनले आफैंलाई किन जलाइन् भन्ने खुलिसकेको छैन ।