राष्ट्रलाई समृद्ध बनाउन सबै दल मिल्नु पर्छ ः महामन्त्री सिंह
पर्सा, १६ पुस | नेपाली काङ्ग्रेसका महामन्त्री प्रकाशमान सिंहले महामानव विपी कोइरालाले ४० वर्ष अगाडि प्रतिपादन गरेको मेलेमिलापको सिद्धान्तको सान्दर्भिकता अहिले अझै बढेको बताउनुभएको छ ।
महामन्त्री सिंहले राष्ट्रियताको रक्षा गर्दै प्रजातन्त्र प्राप्तिका लागि सबै लोकतान्त्रिक शक्तिबीच मेलमिलाप हुनुपर्ने विपी कोइरालाले २०३३ सालमा प्रतिपादन गरेको सिद्धान्तको अहिले बढी आवश्यकता महसुस भएको बताउनुभयो । काङ्ग्रेस पर्साद्वारा आज वीरगञ्जमा आयोजित ४३ औँ मेलमिलाप दिवसलाई सम्बोधन गर्दै उहाँले विपीको मेलमिलापको नीतिका आधारमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै जनतालाई अधिकार सम्पन्न बनाउने काममा सबै दल मिल्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा काङ्ग्रेस पर्साका सभापति अजयकुमार द्विवेदी र विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताले जनतालाई अधिकार सम्पन्न बनाउने विषयमा सबै दल एक हुन आवश्यक रहेको बताएका थिए ।
रङ्गशाला माग
नारायणी रङ्गशालालाई प्रदेश नं २ को प्रादेशिक रङ्गशाला बनाउन माग गर्दै आज सर्वसाधारणले वीरगञ्जमा मानवसाङ्गलो बनाएका छन् । जनकपुरमा प्रादेशिक रङ्गशाला बनाउने प्रदेश सरकारको निर्णयको विरोध गर्दै वीरगञ्जका उद्योगी व्यापारी, विभिन्न पार्टीका नेता कार्यकर्ता, शिक्षक, विद्यार्थी, मजदुर र खेलाडीले नारायणी रङ्गशालमा मानवसाङ्गलो बनाएका हुन् ।
अठार बिघा जग्गासँगै अन्तर्राष्ट्रियस्तरको फुटबल तथा क्रिकेट मैदान रहेको नारायणी रङ्गशालालाई प्रादेशिक रङ्गशालाको मान्यता नदिई पर्सासँग प्रदेश सरकारले विभेद गरेकाले प्रदेश सरकारको विरोधमा मानवसाङ्गलो प्रदर्शन गरिएको मध्यमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष मानदेव हजराले बताउनुभयो । रासस