‘शान्ति र समृद्धिका लागि स्वशासन आवश्यक’

काठमाडौँ, १६ पुस | सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले देशमा स्थायी शान्ति र समृद्धिका लागि केन्द्रमा सङ्घीय शासन र प्रदेशमा स्वशासन आवश्यक भएको बताउनुभएको छ ।

सो पार्टीको काठमाडौँ महानगरपालिका–४ को अधिवेशनमा सहअध्यक्ष श्रेष्ठले नेपालमा शान्ति र समृद्धिका लागि पहिचानसहितको सङ्घीय शासन आवश्यक भएको औँल्याउनुभयो । उहाँले देशमा भोक, रोग, गरिबी, अभाव र बेरोजगारीको अन्त्य तथा समतामूलक समृद्धिका लागि समाजवादको बाटो अवलम्बन गर्नुपर्ने बताउनुभयो ।

पार्टीको कामपा–४ को अधिवेशनले छकबहादुर राईको अध्यक्षतामा नौ सदस्यीय वडा समिति गठन गरेको छ । अधिवेशनमा पार्टीका केन्द्रीय सदस्य तथा सङ्गठन विभागका सचिव ध्यानबहादुर राई, पार्टी केन्द्रीय सदस्य तथा प्रदेश नं ३ का अध्यक्ष लालबहादुर तामाङले पार्टीको नीति, सिद्धान्त र विचारको आधारमा सङ्गठनलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । रासस